काठमाडौं । आइएमई मोटर्स नेपालका लागि स्वीच मोबिलिटिका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटर (जेनसेट)को आधिकारिक बिक्रेता बनेको छ ।
अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेईमा आयोजित एक विशेष समारोह बीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
सम्झौतामा स्वीच मोबिलिटिका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गरेका हुन् ।
अशोक लेल्याण्डका अध्यक्ष धिरज हिन्दूजाले उक्त सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरे ।
भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्याण्डको सब्सिडिएरी कम्पनी स्वीच मोबिलिटिले विद्युतीय सवारी साधन निर्माण तथा दिगो यातायातका साधनको विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारी साधनहरू उत्पादन तथा वितरण सुरू गरेको छ ।
यो कम्पनी सन् २०२० मा अशोक लेल्याण्डको सहायक कम्पनीको रुपमा स्थापना भएको थियो ।
आइएमई मोटर्स नेपालका लागि अशोक लेल्याण्डका डिजेल जेनेरेटर (जेनसेट)को पनि आधिकारिक बिक्री वितरक बनेको छ । अशोक लेल्याण्डले आफ्नो उत्पादन पोर्टफोलियोको एक अंगको रुपमा डिजेल जेनेरेटरहरू उत्पादन गर्दछ ।
अशोक लेल्याण्डका जेनेरेटर आवासीय, व्यावसायिक, औद्योगिक र कृषिलगायत विभिन्न क्षेत्रमा भरपर्दो र विश्वसनीय ऊर्जा परिपूर्तिका लागि डिजाइन गरिएको छ । अशोक लेल्याण्ड प्रसिद्ध व्यावसायिक समूह हिन्दूजा ग्रुपको प्रमुख कम्पनी हो ।