काठमाडौं । टाटा मोटरको उत्पादन टिगोर फेसलिफ्ट आगामी एक महिना भित्र नेपाली बजारमा सार्वजनिक हुने भएको छ । टाटा मोटरको नेपालको लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङ कम्पनीले नयाँ फेसलिफ्ट टिगोर नेपालमा सार्वजनिक गर्ने भएको हो ।
करिब २० दिन अगाडि भारतीय बजारमा सार्वजनिक भएको टिगोर फेसलिफ्टको ब्रान्ड एक्बेस्डर ऋतिक रोशनलाई बनाएर नयाँ गाडी सार्वजनिक गरेको थियो ।
नेपाली बजारमा समेत भारतीय बजारमा आएको केहि महिना भित्रै सिप्रदीले नयाँ नयाँ मोडल सार्वजनिक गर्दै आएको छ ।
कम्पनीले नयाँ टिगोरमा थुप्रै कस्मेटिक परिर्वतन गरेको जनाएको छ । साथै, कारका धेरै फिचरहरु अपग्रेड गरिएको छ । कम्पनीले प्रिमियम सेग्मेन्टका धेरै फिचर नयाँ टिगोरमा थप गरेको छ । जुन फिचरहरु नेक्सन र टियागोबाट लिइएको कम्पनीको दाबी छ ।
कम्पनीले टिगोर फेसलिफ्टलाई ५ भेरिएन्ट पेट्रोल र ४ भेरिएन्ट डिजेलगरी ९ भेरिएन्टमा भारतीय बजारमा उपलब्ध गराएको छ । तर, नेपाली बजारमा कति भेरिएन्टमा आउने छ भन्ने बिषयमा केहि खुलाईएको छैन ।
टिगोरलाई टिगोर एक्सई, टिगोर एक्सएम, टिगोर एक्सजेड, टिगोर एक्सजेड प्लस र टिगोर एक्सजेडए पेट्रोल भेरिएन्टमा रहेको छ । साथै, डिजेल भेरिएन्टमा टिगोर एक्सई, टिगोर एक्सएम, टिगोर एक्सजेड र टिगोर एक्सजेड प्लस रहेको छ ।
कम्पनीले फ्रन्ट ग्रिलमा नयाँ डाइमेन्सन सेप्ड क्रोम र डबल ब्यारेल हेडल्याम्प दिएको छ । साथै, प्रोजेक्टर लेन्स र क्रोम फिनिसिङ दिइएको छ । फ्रन्ट फग ल्याम्पमा क्रोम एक्सेन्ट, पियानो ब्ल्याक सार्क फिन एन्टेना र ३६ एलइडी हाई माउन्टेन टप लाईट, १५ इन्च अलोय ह्वीलजस्ता परिर्वतन गरिएको छ ।
त्यसैगरी इन्टेरियरमा डुअल ब्ल्याकको साथ ग्रे कलर दिइएको छ । एयर भेन्ट्स, इफोटेन्टमेन्ट सिस्टम र लेदर सीटमा परिर्वतन गरिएको छ । यसमा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । यसले भिडियो प्ले, रिर्भस क्यामेरा र एन्ड्रोइड अटोलगायत सपोर्ट गर्ने छ ।
टिगोर फेसलिफ्टमा १.२ लिटर रेवोट्रन पेट्रोल इन्जिन दिइएको छ । जसले ८४ बीएचपी पावर र ११४ एनएम टर्क जेनेरेट गर्नेछ । कारमा दिइएको १.०५ लिटर रेवोट्रर्क डिजेल इन्जिनले ६९ बीएचपी पावर र १४० एनएम टर्क जेनेरेट गर्नेछ । पाँच स्पीड म्यानुयल र एएमटी दुबै ट्रान्समिसनमा यो कार बजारमा उपलब्ध रहने छ ।
नेपाली बजारमा टिगोर रेगुलर मोडलको बिक्री वितरण हुँदै आइरहेको छ । नेपालमा टिगोरको मूल्य २७ लाख २५ हजारदेखि ३३ लाख ५५ हजारसम्म रहेको छ । तर, नयाँ फेसलिफ्ट भर्सनको मूल्य कति पर्छ भन्ने विषयमा कम्पनीले केहि खुलाएको छैन ।


