काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मिटरमा जान नमान्ने र सेवाग्राहीसँग बार्गेनिङ गर्ने ट्याक्सीको दर्ता खारेज गर्ने बताएका छन् । ट्याक्सीले उपभोक्ता ठगी गरेको व्यापक जन-गुनासोपछि सरकार उनीहरुबिरुद्ध कठोर भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ट्याक्सीमा विद्यमान सिन्डिकेट अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनीहरुले जथाभावी गरे सरकार चुप लागेर नबस्ने प्रतिबद्धता जनाए ।
‘ट्याक्सीलाई सिस्टममा ल्याउनको लागि हामीले अनुगमन सुरु गरेका छौं,’ मन्त्री महासेठ भन्छन्, ‘ट्याक्सीहरु मिटरमा जान मान्दैनन्, हामीले नयाँ अभियान सुरु गरेका छौं, बार्गेनिङ गर्ने ट्याक्सीहरुको दर्ता खारेज गर्छौं ।’
ट्याक्सीको सिण्डिकेटको सवालमा पनि आफूहरुले मातहतका निकायलाई पर्याप्त निर्देशन दिईसकेको उनको दावी छ। उनले भने, ‘सबै कुरा रातारात परिवर्तन हुँदैनन्, यो पाँच महिनामा जनतालाई अनुभुति दिलाउनेगरि काम गरेका छौं र अब यसलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउँछौं ।’

