ट्याक्सीमा सिन्डिकेड कायमै, सरकारी मापदण्डको इलेक्ट्रीक ट्याक्सी बनाउन गाडी नै छैन

काठमाडौं । सरकारले ट्याक्सीमा रहिआएको सिन्डिकेट तोड्ने भनेपनि सिन्डिकेटलाई निरन्तरता दिएको छ । यसले कम मूल्यका ट्याक्सीलाई लाखौ रुपैयाँ बढी तिरेर किन्नु पर्ने बाध्यतालाई कायम नै राखेको छ ।

यसअघि विभागले मन्त्रालयमा पठाएको ड्राफ्टमा ट्याक्सीमा भइरहेको सिन्डिकेट तोड्ने विषय उल्लेख भएको तत्कालिन यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिएका थिए । तर, विभागले गत शुक्रबार सबै प्रदेश यातायात कार्यालयलाई पठाएको पत्रमा ट्याक्सीको नयाँ मापदण्ड तोकिएको छ भने सिन्डिकेट कायम राखिएको छ ।

‘अब उपरान्त नेपाल सरकारबाट नयाँ ट्याक्सी थप गर्ने निर्णय भएमा र बिभिन्न प्रक्रियाबाट सट्टापट्टा गर्नु पर्ने भएमा नयाँ मापदण्ड अनुसारको व्यवस्था गर्न अनुरोध छ’, विभागले कार्यालयहरुलाई लेखेको पत्रमा उल्लेख छ ।

विभागले बनाएको नयाँ मापदण्ड अनुसार कम्तीमा १२०० सीसी क्षमताको फोर स्टोक इन्जिन भएको सेडान कार हुनु पर्ने भनिएको छ । साथै, एसी, हिटर, प्रिन्टरसहितको डिजिटल मिटिर, जिपीएस नेभिगेसन सिस्टम हुनु पर्ने उल्लेख छ ।

उता विभागले बनाएको इलेक्ट्रीक ट्याक्सीको मापदण्ड अनुसारको सवारीसाधन अहिले नेपाली बजारमा उपलब्ध रहेको छैन । कम्तीमा ४० किलोवाट क्षमताको मोटर प्रयोग भएको कुनै इलेक्ट्रीक सेडान कार नेपालमा उपलब्ध छैन । 


Back_to_top