दुई दिनपछि टेस्लाले देखाउँदै सस्तो कार

काठमाडौं । अमेरिकी इलेक्ट्रीक कार निर्माता टेस्लाले यसैसाता नयाँ इन्ट्री लेभल मोडल २ इलेक्ट्रीक कार ल्याउने भएको छ ।

कम्पनीले मार्च १ मा आफ्नो  लगानीकर्ता दिवसको आयोजना गर्ने तयारी गरेसँगै सोही दिन सीईओ एलन मस्कले आफ्नो मास्टर प्लान अनावरण गर्ने अनुमान गरिएको हो ।

यसमा उनले अब आउने इन्ट्री लेभल मोडल २ इलेक्ट्रीक कारको बारेमा खुलासा गर्नेछन् ।

मस्कले विगत लामो समय देखि नै २५ हजार डलरको आकर्षक इलेक्ट्रीक सवारीसाधन निर्माण गर्ने इच्छा व्यक्त गरेका थिए । सोहीअनुसार मस्कले यो कार आफ्नो कम्पनीको पहिलो लगानीकर्ता दिवसको दिन अनावरण गर्ने अनुमान गर्न सकिन्छ ।

यो इलेक्ट्रीक कार टेस्ला मोडल थ्रीको तुलनामा १५ प्रतिशत छोटो र ३० प्रतिशत कम वजन भएको हुनेछ । यसमा मोडल थ्रीको तुलनामा २५ प्रतिशत सानो ब्याट्री प्रयोग  हुने जनाइएको छ ।

यससँगै, यो कारको डिजाइन, आर्किटेक्टचर र निर्माणमा केही परिवर्तन गरिएको हुनेछ । यसले अन्य ईभी निर्माणको तुलनामा ३७ प्रतिशत लागत खर्च कम हुने कम्पनीले जनाएको छ ।

यसमा केही विश्लेषकले भने मस्कले टेस्ला मोडल २ मोडल घोषणा गरे पनि यो चीनको लागि मात्र हुने बताएका छन् । सानो ब्याट्री र कम रेन्ज भएका साना कार चिनियाँ बजारमा बढी उपयुक्त हुने र यसले चीनमा आफ्नो बिक्री बढाउन मद्दत गर्ने धेरैले टिप्पणी गरेका छन् ।


Back_to_top