टायरमा लेखिएको नम्बरको अर्थ जान्ने तरिका

काठमाडौं । टायर, चक्का वा पाङ्ग्रा जुनसुकै नामले चिन्न सकिने बस्तुको विना गाडी चल्न सक्ने कुरै भएन । सवारीसाधन र जमिन बीचको सम्बन्धमा सेतुको भूमिका निर्वाह गर्ने टायरले सबै खाले मौसमलाई झेल्नु पर्छ ।

पानी, हिलो, हिउँ, गिट्टी, वालुवा, ढुङ्गा, ग्राभेल पीच जस्ता सबैखाले बाटोमा टायरले सवारीसाधनलाई सकुसल गुडाउन मद्दत गर्छ । टायर एक्लैले काम गर्दैन, यसमा सहि परिमाणमा हावा हुनु जरुरी हुन्छ । यदि, हावाको परिमाण कम वा बढि छ भने यसले गाडीको पफर्मेन्शमा नै गिरावट ल्याउँछ ।

टायरको आयु निश्चित हुन्छ । अथवा, कहिले कहि खराब बाटोका कारण समय अगावै टायर च्यातीने वा फुट्ने समेत हुन्छ । यस्तो अवस्थामा नयाँ टायर फेर्नुपर्ने हुन्छ । विभिन्न सवारीसाधनमा फरक फरक साइजका टायरहरुको प्रयोग हुन्छन् । नयाँ टायर खरिद गर्दा कम्पनीले गाडीमा लगाएको टायरमा रहेको नम्बरमा ध्यान दिनु पर्छ । टायरको उचाई, चौडाई र मोटाई मिल्नु पर्छ ।

टायरमा प्रिन्ट भएको नम्बर

टायरमा कम्पनीले नम्बर प्रिन्ट गरेर पठाएको हुन्छ । विश्वमा चल्ने सबै वहानहरुको टायरमा कुनै खास नम्बर दिएको हुन्छ । यी नम्बरहरुले टायरको साइज, टायरको प्रकार, टायरको पर्फमेन्सको जानकारी दिइएको हुन्छ । टायरको साइड वालामा प्रिन्ट भएको यस्ता नम्बरहरुको सहायताले टायरको बारेमा पुरा जानकारी लिन सकिन्छ ।

टायरको सुरुमा पहिलो तीनवटा नम्बर हुन्छ, यसले टायरको चौडाईलाई बुझाउँछ । यसको लगत्तै दिएको दुईवटा नम्बरले टायरको प्रोफाइललाई बुझाउँछ । मानौ, टायरको पहिलो तीनवटा नम्बर २०५÷५० रहेको छ भने यसको अर्थ २०५ एमएम चौडाई र ५० को अर्थ २०५ को ५० प्रतिशत अर्थात १०२.५ एमएम प्रोफाइल भन्ने हो ।

यसरी सुरुमा रहेको पाँचवटा नम्बरपछि अंग्रेजी अक्षर पाउन सकिन्छ । जस्तै, आर १५ वा आर १८ लेखेको हुन सक्छ । यसमा दिएको आरको मतलब रेडियल हो । यसले टायरको बनावटको प्रकारलाई बुझाउँछ । त्यसपछि हुने दुईवटा नम्बरले टायर बस्ने रिमको साइज जनाउँछ । यदि, आरसँगै १५ लेखिएको छ भने यसको अर्थ १५ इन्चको रिम साइज भन्ने हो ।

टायरमा यसले कति वजन उठाउन सक्छ, त्यो पनि लेखिएको हुन्छ । यसको जानकारी अन्तिममा रहेको दुई अंकले बुझाउँछ । यदि, टायरमा ९१ लेखिएको छ भने हावाको मात्रा मिलाइएको खण्डमा ६१५ किलोसम्मको तौल उठाउँछ भन्ने हो । त्यस्तै यदि ८९ लेखिएको छ भने, ५८० किलोसम्मको ओजन धान्छ भन्ने हो ।

 


Back_to_top