के हो मोनोशक सस्पेन्सन ? यसरी गर्छ काम

काठमाडौं । हामीले चढ्ने मोटरसाइकलमा कुनै न कुनै प्रकारको सस्पेन्सन प्रयोग भएको हुन्छ । हरेक मोटरसाइकल तथा स्कुटरको फ्रन्ट र रियरमा सस्पेन्सन दिइन्छ ।

चालकलाई सहज यात्राको लागि दिइने यस्ता सस्पेन्सन धेरै प्रकारको पाइन्छ । यसको प्रकार अनुसार पैसा पनि फरक हुने गरेको छ ।

नेपाली बजारमा बिक्री हुँदै आएका वा भारतमा उत्पादन भएका धेरै जसो मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन हुन्छ । पछाडि भने ट्वीन सक याव्जर्भर देख्न पाइन्छ ।

मोटरसाइकलको डिजाइन ट्रेडिशनलबाट आधुनिक तर्फ जाँदै गर्दा रियरमा भने मोनोशक सस्पेन्सको प्रयोग बढ्न थालेको छ । पहिला २०० सीसीभन्दा माथिका मोटरसाइकलमा मात्र देख्न पाइने मोनोशक सस्पेन्सन अहिले १२५ सीसी सेग्मेन्टका धेरै मोटरसाइकलमा प्रयोग हुन थालेका छन् ।

किन मोनोशक सस्पेन्सको प्रयोग कम्पनीहरुले बढाउँदै लगेका हुन् । साथै, यसको विशेषता के हो भन्ने बारेमा हामीले यहाँ जानकारी दिने प्रयास गरेका छौं ।

मोटरसाइकलको स्वीङआर्म र बडी फ्रेमलाई जोड्ने एक प्रकारको स्प्रिङ भएको कम्पोनेन्ट मोनोशक सस्पेन्सन हो । यसको भित्री भागमा यात्रामा हुने झट्कालाई कम गर्ने सक याव्जर्भर दिइएको हुन्छ ।

लिङ्क मोनोशक भने सिधै मोटरसाइकलको मुख्य फेमबाट स्वीङ्आर्ममा नजोडिएर अर्को कम्पोनेन्टका लिङ्क भएर स्वीङ्आर्ममा जोडिन्छ । यसले सामान्य स्वीङ्आर्मको तुलनामा अझै धेरै झट्का याव्जर्भर गर्छ र राइड स्मुथ बनाउन मद्दत गर्छ ।

मोनोशक सस्पेन्सनका पनि केही प्रकारहरु छन् । जसमा लिंक मोनोशक, प्रिलोडेड, एड्जष्टेवल लगायत नामले यसलाई चिनिन्छ । सामान्य रुपमा भन्नु पर्दा यी सबै मोनोशकका विकसित रुप हुन् ।

मोनोशक सस्पेन्सनले मोटरसाइकल चलाउँदा मोटरसाइकललाई स्थिर राख्दै अफरोड तथा खाल्टा खुल्टीमा पर्दा आउने झट्कालाई कम गर्छ । यस्ता सस्पेन्सन स्पोर्टस् तथा अफरोड बाइकहरुम प्रयोग गर्ने गरिएको भए पनि आजकल कम्यूटर सेग्मेन्टका मोटरसाइकलमा समेत देख्न सकिन्छ ।


Back_to_top