के हो चार्जिङ लस ? ईभी चार्ज गर्दा कति खेर जान्छ बिजुली ?

काठमाडौं । अहिले सामान्य भाषामा तपाईंंको ईभीमा ५० किलोवाट आवरको ब्याट्री प्याक छ भने यसलाई फुलचार्ज गर्दा ५० युनिट बिजुली लाग्छ भन्ने गरिन्छ ।

यदि, तपाईंंले ईभी चार्ज गर्न घरमा सबमिटर राखेर प्रयोग गर्नु भएको छ भने ठ्याक्कै भन्न सक्नुहुन्छ, कति बिजुली लाग्छ भनेर । तर, तपाईं सार्वजनिक चार्जर वा घरमा पनि छुट्टै मिटर नराखी चार्ज गर्दै आउनुभएको छ भने तपाईंले चार्जिङ लस अनुभव गर्न सक्नु भएको छैन ।

जर्मन अटोमोवाइल एशोसिएशनका अनुसार एउटा ईभी फुलचार्ज हुँदा १० देखि २५ प्रतिशतसम्म इनर्जी खेर जानेछ ।

यसरी हुने इनर्जी लसलाई पूर्णरूपमा घटाउन सकिँदैन । जब, इनर्जी एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण हुन्छ त्यहाँ कन्भर्टरको प्रयोग हुन्छ । उक्त कन्भर्टरको प्रयोग गर्दा इनर्जी खर्च हुन्छ । यो प्रकृया कार, ट्याबुलेट, ल्यापटप, फोन वा अन्य ब्याट्री भएको डिभाइस चार्ज गर्दा पनि हुने गर्छ ।

साना ब्याट्री भएका डिभाइसमा यसको लेखाजोखा हुने गर्दैन । तर, इनर्जी लसभने हुन्छ नै । फिजिक्सको सर्वमान्य सिद्धात अनुसार ‘इनर्जीलाई नत सृजना गर्न सकिन्छ, नत नष्ट नै गर्न सकिन्छ, यसलाई त एक प्रकारबाट अर्को प्रकारमा परिवर्तन मात्र गर्न सकिन्छ ।’

एसी (अल्टरनेटीङ करेन्ट) चार्जर मार्फत चार्ज गर्दा चार्जिङ प्रकृयामा धेरै कम्पोनेन्टहरूको प्रयोग भएका हुन्छन् । अनबोर्ड चार्जर, चार्जिङ केबल, चार्जिङ पावर, ईभी ब्याट्री जस्ता कम्पोनेन्टले पनि चार्जिङका क्रममा पावर लस र चार्ज इफिसियन्सीलाई प्रभाव पार्छन् । ईभी चार्जिङ इफिसियन्सीलाई प्रभाव पार्ने मुख्य ४ फ्याक्टरहरू यस प्रकार छन् ।

अनबोर्ड चार्जरका कारण ईभी चार्जिङमा लस

गाडीको अनबोर्ड चार्जर प्रयोग गर्दा ७५ देखि ९५ प्रतिशत मात्र इफिसियन्सी पाउन सकिन्छ । अनबोर्ड चार्जरको मुख्य काम एसी पावरलाई डिसी पावरमा कन्भर्ट गर्नु हो । उक्त कन्भर्जनका क्रममा हिट उत्पन्न हुन्छ र इनर्जी लस हुन्छ ।

अनबोर्ड चार्जिङ सिस्टमले पूर्ण क्षमतामा काम गर्न एकदमै थोरै करेन्टको प्रवाह हुनु पर्छ । यसले पनि पूर्णतया इनर्जी लसलाई रोक्न सक्दैन ।

चार्जिङ केबलका कारण हुने लस

केही इनर्जी चार्जिङ केबलको माध्यमबाट ब्याट्रीसम्म पुग्दा पनि लस हुन्छ । यो लस रेसिस्टेन्सका कारण हुने गर्छ । त्यसैले जति छोटो चार्जिङ केबल हुन्छ, त्यतिनै कम चर्जिङ लस हुन्छ ।

चार्जिङ पावरका कारण हुने चार्जिङ लस

जति धेरै पावर भयो, त्यति नै धेरै हिट जेनेरेट हुन्छ । हामी सबैलाई थाहा छ इनर्जी परिवर्तन भई हिट उत्पन्न हुन्छ । बाक्लो चार्जिङ केबलले हिटलाई घटाउन मद्दत गर्छ, जसका कारण इनर्जी लस कम गर्न सकिन्छ ।

जति धेरै चार्जिङ स्पीड भयो, त्यतिनै बाक्लो केबल भए राम्रो हुन्छ । जस्तो मानौ तपाईंले ११ किलोवाट र २२ किलोवाट क्षमताको केबलबाट ११ किलोवाटको चर्जिङ स्टेशनमा चार्ज गर्दा २२ किलोवाटमा धेरै हिट जेनेरेट हुने हुदाँ त्यहाँ धेरै इनर्जी लस हुन्छ । त्यसकारण जस्तो चार्जिङ स्पीडका लागि डिजाइन भएको हो त्यस्तै केबल प्रयोग गर्दा इनर्जी लस कम गर्न सकिन्छ ।

ईभीको ब्याट्रीका कारण चार्जिङ लस

चार्जिङ स्टेशनको इलेक्ट्रीक इनर्जी लिथियम आयोन ब्याट्रीमा केमिकल इनर्जीमा परिवर्तन हुन्छ । उक्त कन्भर्जन प्रोसेसका क्रममा हिट उत्पन्न हुने भएकोले पावर लस हुन्छ । तर, आधुनिक ईभीका ब्याट्री प्याकमा भएको थर्मल मेनेजमेन्ट सिस्टमले ब्याट्री तात्दा वा कुलिङ डाउन हुँदा इनर्जी लस कम गर्छन् ।

ईभीमा चार्जिङ लस हुने अन्य कारण

यदि एकदमै चिसो मौसममा तपाईंको ईभी चार्ज गरिरहनु भएको छ भने चार्जिङ प्रोसेस सामान्यभन्दा ढिलो भएको देख्नु भएकै होला । यसको कारण ईभीको ब्याट्री चार्जिङ हुनुभन्दा पहिला न्यानो हुनु पर्छ्र । त्यसका लागि केही इनर्जी आवश्यक हुन्छ ।

अर्को, एकदमै गर्मीमा पनि ईभीको ब्याट्री चार्ज हुन सक्दैन । यसलाई पनि कुलिङ गर्न आवश्यक हुन्छ । यी प्रकृयामा पनि ब्याट्री तताउँदा र चिस्याउँदा थप इनर्जी प्रयोग हुन्छ । केही परीक्षणले ईभीको ब्याट्री चार्ज गर्न २० देखि २५ डिग्री सेन्टीग्रेड तापक्रम उत्तम देखाएको छ ।

एसी भर्सेस डीसी चार्जिङ, कुनमा बढी चार्जिङ लस ?

माथि नै उल्लेख भइसकेको छ कारमा भएको अनबोर्ड चार्जरले एसी पावरलाई डीसीमा कन्भर्ट गर्छ । यो एसी चार्जिङमा मात्र लागू हुने हो ।

तर, डीसी चर्जिङमा चार्जिङ स्टेशनबाट निस्केको इनर्जी कन्भर्ट नगरी सिधै डीसीकै रूपमा ईभीमा स्टोर हुन्छ । जसका कारण चार्जिङ लस उल्लेखनीय रूपमा कम हुन्छ । त्यसकारण एसीको तुलनामा डीसी फास्ट चार्जरबाट राम्रो इनर्जी इफिसियन्सी पाउन सकिन्छ ।


Back_to_top