बजेट कुर्दै दुई इलेक्ट्रीक एसयूभी, कति मूल्यमा आउला ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि जेठ १५ गते संघिय संसदमा बजेट प्रस्तुत गर्दैछ । सरकारले ल्याउने नयाँ बजेटले विद्युतीय कारमा करका दरहरु कसरी कायम गर्छ भन्ने सर्वत्र चासो र चिन्ताको विषय बन्दै आएको छ ।

हरेक वर्ष विद्युतीय साधनमा करका दरहरु चलाउँदै आएको सरकारले यस वर्ष के गर्छ ? त्यहि अनुसार आफ्नो विद्युतीय एसयूभी नेपाल ल्याउने योजनामा हुन्डाई र टाटा देखिएका छन् । दुबै ब्राण्डले आफ्नो चर्चित र सफल मोडलको नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरिरहेका छन् ।

हुन्डाईले सन् २०१८ मा पहिलो पटक नेपाली बजारमा ल्याएको कोना इलेक्ट्रीकको नयाँ जेनेरेशन ल्याउँदैछ । कम्पनीले अघिल्लो वर्षको अन्त्यबाट अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको कोना ईभी सरकारले लगाउने करलाई आधार मानेर नेपाल ल्याउने वा नल्याउने भन्ने निर्णयमा पुग्ने तयारी भएको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि स्रोतले बतायो ।

त्यस्तै टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले पनि आफ्नो सफल मोडल नेक्सन ईभीको फेसलिफ्ट मोडल ल्याउन बजेट नै कुरिरहेको छ । कम्पनी स्रोतका अनुसार बजेटले कर निर्धारण कसरी गर्छ, त्यहि अनुसार नेक्सन ईभीको फेसलिफ्ट ल्याउने तयारी भइरहेको छ ।

नेक्सन ईभी

टाटाले सन् २०२० मा नै बजारमा उतारेको नेक्सन ईभी २०२३ मा आएर फेसलिफ्ट गरेको हो । नेपाल आएको दुई वर्षमा नै नेक्सन ईभीले नयाँ रेकर्ड निर्माण गर्न सफल भयो । नेक्सन आफु मात्रै चलेन । उसले सिप्रदीलाई नेपालमा प्यासेन्जर कार सेग्मेन्टमा नम्बर वान बनायो ।

बजेट अगाडि नै नेपाल ल्याउने योजना सुनाएको सिप्रदीले बजेटले कस्तो कर नीति लिन्छ, त्यहि अनुसार बजारमा ल्याउन खोजेको देखिन्छ । फेसलिफ्ट नेक्सन ईभीमा मेकानिकल परिवर्तनभन्दा पनि डिजाइन, कलर र फिचरमा ब्यापक परिवर्तन भएको छ । यसको अगाडि, पछाडि र बडी डिजाइनमा ब्यापक परिवर्तन देख्न सकिन्छ ।

यसको बाहिर मात्र होइन इन्टेरियर पनि पूर्ण नयाँ जस्तै देखिन्छ । ड्यासबोर्ड, स्टेरिङ ह्वील, सेन्टर कन्सोल, स्वीच बटम, सिट लगायतका सबै फिचरमा परिमार्जन भएको छ ।

नेक्सन ईभीको फेसलिफ्टमा ब्याट्री परिवर्तन नभएपनि म्याक्स र प्राइम भन्ने भेरियन्ट रहने छैन । अब मिड रेन्ज (एमआर) र लङ रेन्ज (एलआर) नामबाट नयाँ नेक्सन ईभी आउने छ ।

कम्पनीले एमआर मोडलमा ३०.२ किलोवाट आवरको ब्याट्री दिएको छ । त्यसैगरी एलआर भेरियन्टमा ४०.५ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

नयाँ जीपट्रोन जेन-२मा आधारित नयाँ नेक्सनको अगाडिको डिजाइन धेरै हदसम्म कर्भ कन्सेप्टमा आधारित छ । यसको पछाडिको भागभने ह्यारीयरबाट प्रेरित देखिन्छ । कम्पनीले नयाँ नेक्सन ईभीमा ७.२ किलोवाट क्षमताको एसी चार्जर स्टायन्डर्ड रुपमा दिएको छ ।

भेहिकल टु लोड र भेहिकल टु भेहिकल चार्जिङ सुविधा उपलब्ध नयाँ नेक्सन कुनै पनि विषयमा अहिले बजारमा रहेका इलेक्ट्रीक मोडलभन्दा कमजोर देखिदैन । कम्पनीले यसको पफर्मेन्समा पनि १० देखि १५ प्रतिशत सुधार भएको दावी गरेको छ ।

नयाँ नेक्सन पनि पहिले जस्तै ९९ किलोवाटको मोटरमा उपलब्ध हुनेछ । यसलाई कम्पनीले ईको, सिटी र स्पोर्टस् ड्राइभ मोड दिएको छ ।

कोना ईभी

हुन्डाई कोना ईभीको २०२४ मोडल अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको छ । कम्पनीले नयाँ कोना ईभीमा फरक ब्याट्री क्षमता र नयाँ प्लेटफर्म प्रयोग गरेर ल्याएको हो ।

नयाँ कोना इलेक्ट्रीकमा दुई ब्याट्री अप्सन दिइएको छ । यसमा ६४.८ किलोवाट आवरको ठूलो र ४८.६ किलोवाट आवरको सानो ब्याट्री प्याक पाउन सकिन्छ । यसको ६४.८ किलोवाट आवरको ब्याट्रीलाई एकपटकको फुल चार्जमा ४१८ किलोमिटर गुडाउन सकिन्छ । यसमा १५० किलोवाट क्षमताको मोटर दिइएको छ ।

त्यसैगरी, यसको सानो ब्याट्री प्याकले ३१७ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा १०० किलोवाट क्षमताको मोटर छ । यसले २५५ एनएम टर्क जेनेरेट गर्छ ।

नयाँ जेनेरेशन कोना ‘ई-जीएमपी प्लेटफर्म’मा आधारित रहेको छ । जसले गाडीको चर्जिङ स्पीड बढाएको छ । अघिल्लो मोडलको तुलनामा नयाँ मोडल डिसी चार्जसको सहायताले छिटो चार्ज हुन्छ । यसलाई ४३ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

यसमा भेहिकल टु लोड (भी–टु–एल) फिचर पनि समावेश गरिएको छ । साथै, गाडीबाट अन्य यन्त्र वा कुनै उपकरणमा १.७ किलोवाट आवरसम्मको पावर प्रदान गर्न सकिन्छ ।

यसको बाहिरी भागमा कम्पनीले फ्रन्ट माउन्ट गरिएको चार्जिङ पोर्ट, पिक्सेलेटेड एलइडी ग्राफिक्स सहितको फुल वाइड डीआरएल लाइट, बडी क्ल्याडिङको प्रयोग गरेको छ ।

यसको भित्रि भागमा भने १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । यसबाट ओभर द एयर अपडेट, विभिन्न ड्राइभिङ मोडसहित एम्बिएन्ट लाइटिङ एडजस्ट गर्न सकिन्छ ।

कोना ईभीमा स्मार्ट रिजेनेरेटिभ सिस्टम, आइ पेडल ड्राइभिङ मोड लगायतका फिचर्सले सुसज्जित गरिएको छ ।

कति मूल्यमा आउला ?

सरकारले भन्सार र अन्तःशुल्क कति निर्धारण गर्छ, त्यहि अनुसार यी दुबै मोडलको मूल्य तोकिने छ । अहिल्यै यति नै मूल्यमा यी दुई एसयूभी बजारमा आउँछन् भन्ने एकिन गर्न सकिदैन ।

अहिलेकै भन्सार र अन्तःशुल्क दर यथावत रहने हो भने कोनाको मूल्य ६८ देखि ७० लाख र नेक्सनको मूल्य ४७ देखि ४८ लाख भित्रै रहने छ ।


Back_to_top