काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक कार निर्माता टेस्लाको युरोपमा बिक्री ‘क्र्यास’ भएको छ । कम्पनीले सन् २०२५ को पहिलो महिनामा नै ६३ प्रतिशतले युरोपमा बिक्री गुमाएको हो ।
सन् २०२३ को तुलनामा २०२४ मा बिक्री कमजोर भएको टेस्लाले २०२५ को सुरुवातमै ठूलो झट्का ब्योहोरेको हो । युरोपको मुख्य बजार जर्मनी, बेलायत र फ्रान्समा नै टेस्लाको बिक्रीमा ठूलो गिरावट आएको हो ।
जर्मनीमा ५९.५ प्रतिशतले बिक्री गुमाएको टेस्लाले जनवरी महिनामा केबल १ हजार २७७ युनिट कार बिक्री गर्न सफल भयो । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै इलन मस्कको हाउभाउलाई लिएर पुरै युरोपमा नकारात्मक टिप्पणीहरु चलिरहेका छन् । त्यसैको परिणाम टेस्लाले बजार गुमाएको प्रतिक्रियाहरु आइरहेका छन् ।
डोनाल्ड ट्रम्पको सपथग्रहण समारोहमा उनले गरेको हातको इसारा नाजी समुहसँग गरेको तुलना र जर्मनमा अति दक्षिणपन्थी राजनीतिक समूहलाई उनको निरन्तर समर्थनका कारण पनि अमेरिकी ब्राण्डप्रति जर्मन नागरिक रुष्ट रहेको बताइएको छ ।
टेस्लाको बजार हिस्सा फ्रान्समा ६३ प्रतिशतले घटेको छ । फ्रान्समा जनवरीमा १ हजार १४३ युनिट मात्रै टेस्लाका कार बिक्री भयो । बेलायतमा १२ प्रतिशतले बिक्री घटेको छ । बेलायतमा थोरै घटेछ भन्न लाग्न सक्छ । तर, समग्र ईभी बजार बेलायतमा ३५ प्रतिशतले बढ्दा बजार गुमाउने टेस्ला मात्रै हो । यसले उसलाई पक्कै ठूलो झट्का लागेको हुनसक्छ ।
टेस्लाको दुराअवस्था माथि उल्लेख भएका देशमा मात्रै सिमित छैन । स्विडेन र नर्बेमा क्रमशः ४४ र ३८ प्रतिशतले बजार गुमाएको छ ।
यसरी ठूलो परिमाणमा बजार गुमाउनुको पछाडि कुन कुराले महत्वपूर्ण भूमिका खेल्यो भन्ने बहस विश्वभर नै चल्दैछ । विशेषगरी बजार गुम्नुमा मस्कको विवादास्पद भूमिका र नयाँ मोडल वाईको पर्खाइमा युरोपका ग्राहक रहेको अनुमान गर्न सकिन्छ ।
टेस्लाले पहिलो पटक आफ्नो मोडल वाईमा ब्यापक परिमार्जन गरेर बिक्री सुरु गर्दैछ । हेरौं अबको दुई महिना भित्रै टेस्लाको विक्रीमा ब्यापक गिरावट आउनुको मुख्य कारण के हो भन्ने पत्ता लाग्नेछ ।
तर, यहाँ चर्चा गर्नु पर्ने अर्को एउटा रिपोर्ट पनि छ । बेलायती प्रकाशन इलेक्ट्रीफाइङले प्रकाशन गरेको एक सर्वेक्षण अनुसार ५९ प्रतिशत बेलायती ईभी मालिक र चाँडै ईभी किन्न चाहनेहरु इलन मस्ककै कारण टेस्ला किन्न नचाहने अवस्था पुगेको देखाएको छ ।
स्विडेनी उपभोक्ताहरुमा गरिएको सर्वेले ६३ प्रतिशतले टेस्ला प्रति नै नकारात्मक धारणा राखेका थिए । रोयटर्सले गरेको अध्यन अनुसार पनि युरोपमा टेस्ला प्रति सकारात्मक धारणा राख्ने उपभोक्ता ११ प्रतिशत मात्रै रहेको उल्लेख छ ।