मोटरसाइकलको विकल्प बन्ने सानो कार, यस्ता हुनेछन् फिचर

काठमाडौं । साना र सस्ता कारको बजार भनेर चिनिने भारतमा उत्पादन प्लान्ट बनाइरहेको भियतनामी न्यू इनर्जी भेहिकल कम्पनी भीनफास्टले मिनी कार ‘मिनियो ग्रिन’ देखाएको छ । कम्पनीले मिनियो ग्रिनको साथमा हेरियो ग्रिन, नेरियो ग्रिन र लिमो ग्रिन मोडलको कन्सेप्ट देखाएको हो ।

सबै भेहिकलको नाममा ग्रिन थपेको कम्पनीले ल्याउने सबै मोडल विद्युतीय हुने पुष्टि गर्छ । भीनफास्टले देखाएको यी ४ कारमा २ वटा भने पहिला बजारमा रहेको कारलाई नै रि-ब्याज गरिएको हो । दुई वटा भने विल्कुलै नयाँ मोडल हुन् ।

कम्पनीले देखाएको मिनियो ग्रिन सबैभन्दा फरक रहेको छ । भीनफास्टसँग यसअघि नै सिटी ड्राइभको लागि भीएफ-३ मोडल रहेको थियो । तर, मिनियो ग्रिन भने भीएफ-३ भन्दा पनि सानो र कम गतिको हुनेछ ।

कम्पनीले देखाएको सानो मिनी कार मोटरसाइकलको रिप्लेसमेन्ट हुन सक्नेछ । अधिकतम २० किलोवाट आवरको ब्याट्रीप्याक हुने यस कारको रेन्ज १८० किलोमिटरसम्म हुनेछ । कारको टप स्पीड क्षमता पनि अधिकतम ८५ किलोमिटर प्रति घन्टा रहनेछ । निकै सानो कार भएपनि डिसी फास्ट चार्जर समेत सपोर्ट गर्नेछ । तर, चार्जिङ स्पीड भने १२ किलोवाट मात्रै हुनेछ । त्यस्तै एसी चार्जर भने ३.३ किलोवाट सपोर्ट गर्नेछ ।

दुई ढोका दिएर तयार पारिएको मिनी कारको लम्बिाइ ३०९० एमएम, चौडाइ १४९६ एमएम र उचाइ १६२५ एमएम रहने छ । यसमा ह्वीलवेस २०६५ एमएम लामो हुनेछ ।

भीनफास्टले घोषणा गरेको हेरियो र नेरियो ग्रिन भने भीएफ-५ र ई-३४ को नयाँ भर्सन हुन् । कम्पनीले घोषणा गरको लिमो ग्रिन भने सबैभन्दा ठूलो ७ सिट क्षमताको ईभी हुनेछ । कम्पनीले यी सबै मोडलहरु यसै वर्षमा बजारमा ल्याउने अनुमान गरिएको छ ।


Back_to_top