काठमाडौं । थाइल्याण्ड चिनियाँ कार ब्राण्डहरूको नयाँ हबको रूपमा विकास भएको छ । यहाँ चिनियाँ ब्राण्डहरूले आफ्नो उत्पादन प्लाण्ट लगाउन तँछाड मछाड गरिरहेका छन् ।
यसअघि नै चिनियाँ अटोमोबाइल कम्पनीहरू नेटा, एमजी, बीवाइडी, दीपल ब्राण्डका ईभीहरू थाइल्याण्डमा उत्पादन हुँदै आएका छन् । साथै, एसएआइसी ग्रुप, ग्रेटवाल मोटर्स र चेरी अटोले समेत थाइल्याण्डमा गाडी उत्पादन गर्ने घोषणा गरिसकेका छन् ।
अर्को चिनियाँ अटोमोबाइल कम्पनी जीएसीले पनि आफ्नो ईभी ब्राण्ड एवोन भीको मास प्रडक्सन थाइल्याण्ड प्लाण्टबाट सुरू गरेको छ । उसोत कम्पनीले सन् २०२३ बाटै एवोन वाईको उत्पादन थाइल्याण्डमा थालेको थियो ।
जीएसी इन्टरनेशनलले केही दिन अगाडि भएको बैंकक इन्टरनेशनल मोटर शो २०२५ मा ‘वान जीएसी २.० ग्लोबल स्ट्रयाटेजी’ घोषणा गर्यो । उक्त रणनीति अन्तर्गत कम्पनीले प्रोडक्ट विकास, स्थानिय पार्टस् प्रयोग गर्ने, स्थानीय स्तरमा बिक्री केन्द्रहरू थप्ने, सर्भिसलाई चुस्त राख्ने, इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ युनिटको विकास गर्ने जनाएको छ ।
जीएसीले थाइल्याण्डको प्लाण्टलाई दक्षिण पूर्वी एशियाको ईभी प्रोडक्सन हबको रूपमा विकास गरिरहेको छ । विशेषतः नेपाल लगायतका राइट ह्याण्ड ड्राइभ देशहरूमा थाइल्याण्डमा उत्पादन भएका गाडी आउने छन् ।
नेपालमा कस्तो असर ?
पछिल्लो समयमा नेपाल आएका अधिकांश चिनियाँ इलेक्ट्रीक भेहिकल सडक बाटो हुँदै आउने गरेका छन् । नेपालसँग सिमाना जोडिएको चीनबाट सडक मार्गबाट नेपालमा ईभी आयात गर्दा कम समय र शुल्क लाग्थ्यो ।
नेपालमा तातोपानी र रसुवागढी गरी दुई नाका बाट चीनमा बनेका गाडीहरू आयात भइरहेका छन् । चीनको कुनै पनि प्रान्तमा उत्पादन भएका गाडी एलसी खोलेको एक महिना भित्रै गाडी नेपाल आइपुग्छ ।
चिनियाँ उत्पादकहरूले राइट ह्याण्ड ड्राइभ ईभीको उत्पादन बेस नै थाइल्याण्डलाई बनाएपछि विस्तारै आयात पनि थाइल्याण्डबाटै गर्नु पर्ने देखिएको छ । दीपलको एस-०५ मोडल थाइल्याण्डमा उत्पादन भएर नेपाल आउने क्रममा छ ।
थाइल्याण्डबाट नेपाल आउन समुन्द्रीमार्ग हुँदै भारतको विसाखापटनम् बन्दरगाहमा आउनु पर्नेछ । त्यसपछि कार्गो रेल मार्फत वीरगंजसम्म गाडी आइपुग्छ । वीरगंजबाट सडक मार्ग हुँदै काठमाडौं ल्याउनुपर्छ ।
यसरी थाइल्याण्ड प्लाण्टमा उत्पादन भएका गाडीहरू नेपालमा आइपुग्न झण्डै २ महिनाको समय लाग्ने बिक्रेताहरूको भनाइ छ । यसले समय र लागत दुवै बढाउने छ ।


