सवारी कर घटाउने ‘हल्ला’ले अटो बजार तरंगित, यस्तो छ वास्तविकता

काठमाडौं । अहिले सामाजिक संजालमा फैलिएको एउटा हल्लाले अटोमोबाइल बजार तरंगित भएको छ ।

भावि अर्थमन्त्रीको रूपमा समेत हेरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बोल्दै नबोलेको कुरालाई भाइरल बनाइँदा अटो बजारमा असर देखिएको हो ।

केही मिडिया र सामाजिक संजाल प्रयोगकर्ताले डा. वाग्लेले ‘हाम्रो सरकारले नयाँ सवारी खरिदमा लाग्ने ३००% कर हटाउँछ’, ‘नयाँ सरकारले सवारी कर खारेजी गर्छ’ भन्दै दुष्प्रचार गरिरहेका छन् ।

जसकाे प्रत्यक्ष असर अटो बजारमा पर्न थालेको व्यवसायीहरू बताउँछन् । उक्त हल्लाले मुख्य गरी नयाँ पेट्रोल कार र रिकण्डिसन गाडी किन्ने योजना रहेका ग्राहकलाई भ्रममा पारेको उनीहरू बताउँछन् ।

नयाँ सरकारले सवारी साधनको महँगो कर घटाउँछ, अहिलेकोभन्दा सस्तो मूल्यमा पाइन्छ भन्दै ग्राहक फर्किन थालेको एक सवारी बिक्रेताले बताए । ‘नयाँ गाडी हेर्न आउनुभएका ग्राहकमा हल्लाको ठूलो प्रभाव परेको रहेछ । आज मात्रै हाम्रो शोरुममा आएका तीन जना ग्राहकले नयाँ सरकार आएपछि कर घट्छ । अहिले नकिन्ने भन्दै फर्किनुभयो,’ उनले मेरोअटोसँग भने ।

नयाँ कार बजार मात्रै होइन यो हल्लाले रिकण्डिसन बजार समेत प्रभावित हुन थालेको व्यवसायीहरू बताउँछन् । श्रेया अटोमोबाइलका संचालक सचिन कुइँकेलले सामाजिक संजालमा फैलिएको कर घटाउने हल्लाले व्यवसायमै असर पर्न थालेको बताए । उनले रिकण्डिसन गाडी किन्न आएका ग्राहक नयाँ सरकारले कर घटाउँदै छ भन्दै फर्किएको बताए ।

‘हिजोदेखि सामाजिक संजालमा डा. स्वर्णिम वाग्लले नयाँ सवारी किन्दा हाल लाग्दै आएको ३०० प्रतिशतसम्म कर घटाउने भन्ने हल्ला फैलिएको छ । यसले हाम्रो व्यवसायमै असर पार्न थालेको छ,’ उनले मेरोअटोसँग भने, ‘आज मात्रै रिकण्डिसन गाडी हेर्न आएका दुईजना ग्राहक नयाँ सरकारले कर घटाउँछ । पुरानो किन्ने मूल्यमा नयाँ गाडी आउँछ भन्दै फर्किए । मान्छे वास्तविकता नबुझी हल्लाको पछि लागेका छन् ।’ उनले ग्राहकलाई बेमौसममा फैलिएको हल्लाको पछि नलाग्न अनुरोध समेत गरे ।

‘बद्नाम गर्न मिडिया ट्रायल भयो’

सामाजिक संजालमा फैलिएको उक्त हल्लाबारे बुझ्न हामीले डा. वाग्लेको सचिवालयसँग कुरा गरेका थियौं । सचिवालयका अनुसार डा. वाग्लले कहीँ पनि करको बारेमा कुनै कुरा बोलेका छैनन् । केही व्यक्तिले नियोजित रूपमा डा. वाग्लेलाई बद्नाम गर्नलाई बोल्दै नबोलेको कुरा मिडिया ट्रायल गरिएको सचिवालयले बतायाे ।

‘अहिले न नयाँ सरकार बनिसकेको छ । न बजेट बनाउने बेला हो । कहाँबाट आयो कर घटाउने हल्ला । यसमा कुनै सत्यता छैन । यो सबै  झुटको खेती हो । डा. साबले कर सम्बन्धी कहीँ कतै केही पनि बोलनु भएको छैन । कतै सार्वजनिक अभिव्यक्ति दिनुभएको छैन । उहाँ मतदाता र पार्टीको बाहेक अन्य कुनै कार्यक्रममा सहभागी हुनु नै भएको छैन,’ वाग्लेको सचिवालले मेरोअटोसँग भन्यो, ‘यो सबै डा. वाग्ले र नयाँ दललाई बदनाम गराउन स्वार्थ समूहले चलाएको मिडिया ट्रायल हो । नियोजित दुष्प्रचार हो ।’

सचिवालयले कसैलाई पनि हल्ला र भ्रमको पछि नलागन अनुरोध गरेको छ । दुष्प्रचार गर्ने विरुद्ध कानुनी कारबाहीका लागि प्रक्रिया चालिने सचिवालयले चेतावनी दिएको छ ।


Back_to_top