काठमाडौं । बजाज डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा निस्किएका छन् । यो टोली ५,८८३ मिटर (१९,३०० फीट) उचाईमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक उम्लिङ लाको भ्रमणमा निस्किएको हो ।
“द ग्रेट हिमालयन ओडिसी” नाम दिइएको यो विशाल मोटरसाइकल यात्राले ६,००० किलोमिटर भन्दा बढीको दूरी पुरा गर्नेछ । बजाज डोमिनार ४०० को लद्दाख यात्रा काठमाडौंको नक्सालमा रहेको ‘बाइकर्स क्याफे’बाट सुरु भएको हो ।
यो अभियान देशको मोटरसाइकल संस्कृतिमा विकास विस्तारमा महत्वपूर्ण हुने हंशराज हुलास चन्द एण्ड कम्पनीको बुझाई छ ।
बजाज मोटरसाइकलका मार्केटिङ हेड अमितराज चालिसेले राइडलाई लिएर उत्साह व्यक्त गर्दै भने, ‘डोमिनार राइडरहरूले यो ठूलो चुनौतीको सामना गरेको देखेर हामी धेरै खुसी भएका छौं । विश्वको सबैभन्दा अग्लो मोटरेवल सडकबाट पुग्न सकिने उम्लिङ लामा पुग्नु डोमिनार ४०० को स्थायित्व र यसलाई चलाएर जाने राइडरहरुको साहस र आत्मवलको प्रशंसा गर्नैपर्छ । हामी टोलीलाई बजाज डोमिनार प्रति उहाँहरुले राख्नु भएको विश्वासमा धन्यवाद भन्दै क्रस–कंट्री साहसिक यात्राको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’
यस अभियानको नेतृत्व टोलीका कप्तान मनिष देवकोटाले गरेका छन्, उनले राइड बारे भने, ‘उम्लिङ ला पुग्नु धेरै राइडरहरूको लागि सपना थियो र यो हाम्रो सपना आखिरमा साकार हुँदैछ । हामी अगाडि आउने चुनौतीहरूको लागि तयार छौं र हाम्रो डोमिनार मोटरसाइकल र हाम्रो सवारी कौशलमा हामीलाई पूर्ण विश्वास छ । यो केवल एक यात्रा मात्र होइन, साहस र जोशको बयान पनि हो । यहाँहरू सबैको अटल समर्थन र प्रोत्साहनको लागि धन्यवाद छ ।’
बजाजले यस अभियान अभियानलाई डोमिनार ४०० मोटरसाइकलको पराक्रम र नेपाली सवारहरूको दृढ सङ्कल्पको शक्तिशाली प्रदर्शन मानेको छ । द ग्रेट हिमालयन ओडिसी यही १५ अक्टोबर २०२४ मा सुरु भएको हो ।


