काठमाडौं । विद्युतीय कारको बिक्री बढ्दै जान थालेसँगै कार मोडलको आयु पनि एकदमै कम हुन थालेको छ । पछिल्ला ५ वर्षलाई नजिकबाट नियालेर हेर्ने हो भने एउटा विद्युतीय कारले दुई वर्षपछि राम्रो व्यापार गर्न सकेको छैन ।
त्यसको हुनुको मुख्य कारण नयाँ ईभीहरूको आयत तीव्र गतिमा हुनु र बजारले पनि ईभीलाई सहजै स्वीकार गर्नु मुख्य कारण हो । अहिले करिब २ दर्जन ब्राण्डका विद्युतीय कार नेपाली बजारमा बिक्री भइरहेका छन् । अधिकांश ब्राण्डले केही न केही नयाँ मोडल बजारमा उतार्ने नै भए ।
बजारमा आएका ईभीले कस्तो व्यापार पाउँछ, आउनुभन्दा अगाडि नै ठ्याक्कै भन्न कठिन हुने कुरा हो । तर, पनि अन्तर्राष्ट्रिय बजारमा त्यसले पाउने चर्चा र त्यसको एक्सपेरियन्सभन्दा बाहिर हाम्रो बजार हुन सक्दैन । त्यसैले केही हदसम्म आउँदै गरेका कार मध्ये निकै राम्रो व्यापार गर्न सक्ने र नेपालको कर मार्केटमा नै फरक ल्याउन सक्ने प्रोडक्टका बारेमा यहाँ चर्चा गर्न लागिएको हो ।
अहिले ट्रेन्ड र नेपाली उपभोक्ताको सोचाइलाई मिलाएर बुझ्दा निम्न कार एसयूभीले बजार प्रवेशसँगै बिक्रीमा नयाँ उचाइ पाउन सक्ने आँकलन गर्न सकिन्छ ।
एटो-टु : बीवाइडी यूवान अप (अन्तर्राष्ट्रिय बजारमा सम्भावित नाम एटो-टु) नेपाल चाँडै आउने प्रोडक्टमा पर्छ । साइमेक्स इंकले अहिले प्राथमिकतामा राखेर बिक्री गर्दै आएको एटो-थ्री र डल्फिन मात्रै हो । डल्फिन प्रतिस्पर्धीले घेरिएको मोडल हो भने एटो-थ्री दुई वर्षसम्म निरन्तर राम्रो व्यापार पाउन सफल मोडल हो ।
बजारले जहिल्यै नयाँ प्रोडक्ट खोजिरहेको हुन्छ । यस्तोमा बीवाइडीले नयाँ एटो-टु बजारमा ल्याउनै पर्ने अवस्थामा पुगिसकेको छ । नयाँ मोडल ल्याउँदा बजारमा सकारात्मक संदेशसँगै शोरुमहरूमा उपभोक्ताको आवतजावत बढ्छ । यसले समग्र डल्फिनदेखि एटो-थ्रीको बिक्रीमा फाइदा पुर्याउने छ ।

बीवाइडीले नयाँ एसयूभीमा ३२ किलोवाट आवर र ४५.१ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । सानो ब्याट्रीले ३०१ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।
त्यसैगरी, यसमा रहने ठूलो ४५.१ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने छ । यसमा मोटर पनि अहिले डल्फिनमा जस्तै ७० किलोवाट र ठूलोमा १३० किलोवाटको छ ।
बीवाइडीको ई-प्लेटफर्म ३.० मा बनेको अप मोडलको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ । कम्पनीले यसमा २६२० एमएम लामो ह्वीलबेस दिएको छ ।
हुन्डाई क्रेटा ईभी : हुन्डाई क्रेटा नेपालमा सर्वाधिक बिक्री भएको एसयूभी हो । सन् २०१६ बाट नेपाली बजारमा उपलब्ध क्रेटा एसयूभी १० हजारभन्दा बढी सडकमा गुडिरहेको छ । आफ्नो स्टाइलिस डिजाइन, फिनिसिङ र पर्फमेन्सको कारण क्रेटा नेपालमा निकै सफल भएको हो ।
भारतमा उत्पादन भएको क्रेटा पेट्रोलको सफलतालाई पच्छ्याउँदै आउन लागेको ईभी अहिल्यै बहुप्रतिक्षित मोडल हो । केही महिना अघि मात्रै फेसलिफ्ट भएको क्रेटामा आधारीत विद्युतीय मोडलले कस्तो व्यापार गर्छ एकिन भन्न सकिँदैन । तर, उसको लिगेसीलाई हेर्ने हो भने यो चिनियाँ ईभीलाई राम्रै धक्का दिन सक्ने मोडलमा पर्छ ।

जनवरीमा हुने भारत मोबिलिटी एक्स्पोबाट बिक्री सुरू हुने क्रेटा ईभीमा रहने सबै फिचरको बारेमा जानकारी बाहिर आएको छैन । तर, अहिलेसम्म बाहिर आएको जानकारी अनुसार क्रेटा ईभीमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ । फ्रन्ट एक्सलमा हुने उक्त मोटरले अधिकतम १३८ हर्सपावर र २५५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।
कम्पनीले यसमा ४५ किलोवाट आवरको ब्याट्री प्याक दिनेछ । यसको चार्जिङ पोर्ट कोनोको जस्तै फ्रन्टमा रहनेछ । यसले सिंगल चार्जमा ३५० किलोमिटर हाराहारी रेन्ज प्रदान गर्नेछ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले जनवरी अन्तिमसम्ममा क्रेटा ईभी नेपाली बजारमा बिक्री सुरू गर्ने अनुमान गर्न सकिन्छ ।
एमजी ईएस-५ : नेपालमा एमजीको आफ्नो छुट्टै पहिचान छ । सन् २०१९ देखि २०२४ सम्म जेडएस ईभी निरन्तर बिक्री गरेर पारामाउन्ट मोटर्सले आफूलाई ईभीको लामो खेलाडीको रूपमा स्थापित गरिसकेको छ । यस्तोमा एमजी जेडएस ईभीकै सक्सेरको रूपमा आउन लागेको ईएस-५ ले पक्कै बजारमा केही परिवर्तन ल्याउने छ ।
प्योर ईभी प्लेटफर्ममा तयार भएको ईएस-५ एमजी जेडएस ईभीभन्दा ठूलो छ । मूल्यका हिसाबले जेडएस ईभीभन्दा पनि सस्तो मूल्यमा आउन लागेको नयाँ क्रसओभरले नेपालमा राम्रो व्यापार गर्ने अनुमान लगाउन सकिन्छ । यसको बुकिङ डिसेम्बर २०२४ मा नै खुल्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।

ईएस-फाइभमा ४९.१ र ६२.२ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सन रहने छ । उक्त ब्याट्रीको सीएलटीसी रेन्ज ४२५ देखि ५२५ किलोमिटरसम्म हुनेछ । एमजीले नयाँ एसयूभीमा १२५ किलोवाट क्षमताको मोटर दिएर चीनमा ल्याउने छ । यसको पीकटर्क भने २५० एनएम हुनेछ । यसमा केबल ११० एमएम बाक्लो ब्याट्री प्रयोग भएको छ । यसलाई अहिलेसम्मकै सबैभन्दा पातलो ब्याट्री दाबी गरिएको छ ।
ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, लामो र स्मार्ट इन्स्ट्रुमेन्ट क्लष्टर रहेको इएस-फाइभको ड्यासबोर्ड निकै स्मार्ट छ । सिंगल करलमा सजिएको ड्यासबोर्ड र नयाँ स्टेरिङ ह्वीलको कम्बिनेसन उत्कृष्ट छ । यसको सेन्टर कन्सोल पनि निकै आकर्षक देखिएको छ ।
निकै पातलो एलईडी डे डाइम रनिङ लाइट र सार्प एलईडी हेडलाइट दिइएको एसयूभीको पछाडि वाई आकारको टेल लाइट दिइएको छ । ठूलो पानारोमिक सनरुफ, १७ र १८ इन्चको दुई फरक साइजको ह्वील अप्सनमा आउने इएस-फाइभमा विल्कुलै नयाँ डिजाइनको अलोय ह्वील प्रयोग गरिएको छ ।
एवोन भी : जीएसी मोटर्सको एवोन भी पनि नेपाल आउने अर्को उत्कृष्ट इलेक्ट्रीक एसयूभी हो । सीजी मोटर्सले नेपाल ल्याउने जीएसी एवोन भी नाडा अटो शो २०२४ मा पनि प्रदर्शनी भएको थियो । कम्पनीले आगामी डिसेम्बर प्रोडक्सन नेपाल ल्याउने तयारी गरिरहेको छ । सम्भवतः २०२५ जनवरीबाट एवोन-भी नेपालमा बिक्री सुरू हुनेछ ।

एवोन भीको लम्बाइ ४६०५ एमएम, चौडाइ १८७६ एमएम र उचाइ १६८६ एमएम रहेको छ । एवोन भी मोडलमा एच आकारको हेडलाइट, १९ इन्चको मल्टी स्पोक पेटल स्टाइल रिम, क्लोज अफ ग्रिल दिइएको छ । कम्पनीले यसमा ११ वटा क्यामेरा, १२ वटा अल्ट्रासोनिक रेडार दिएको एसयूभी पूरै हाइटेक फिचरले भरिपूर्ण छ ।
यसको इन्टेरियरमा १४.६ इन्चको सेन्टर कन्ट्रोल स्क्रीन, मेटलबाट बनेको डोर ह्याण्डल र एसीभेन्ट पाउन सकिन्छ । सिटहरू पूरै फोल्ड गर्न मिल्ने छन् । ४७५ लिटरको ठूलो बुट स्पेश रहेको एसयूभीमा ६२ किलोवाटदेखि ९० किलोवाटसम्मको फरक फरक ब्याट्री अप्सन उपलब्ध छ । नेपाली बजारमा कुन ब्याट्रीमा आउँछ अहिल्यै एकिन जानकारी बाहिर आएको छैन ।

