काठमाडौं । अहिले बजारमा सर्वाधिक चर्चा भएको इलेक्ट्रीक कार टियागो ईभी हो । सिप्रदीले नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको टियागो ईभी २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरु भएको छ ।
कम मूल्यमा पर्फेक्ट फ्यामली कार पाउने भएपछि टाटा टियागोले धेरैको ध्यान खिच्न सफल भएको हो । त्यसमा पनि ईभी भएकै कारण संचालन खर्च र सर्भिसमा पनि धेरै खर्च गर्नु नपर्ने भएको कारण मानिसहरु यसमा आकर्षित भएका हुन् ।
टियागो ईभीको सुरुवाती भेरियन्ट किन्ने ग्राहकले मूल्यको २० प्रतिशतले हुन आउने ४ लाख ३९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट वापत तिरेर खरिद गर्न सक्ने छन् ।
होइन, तपाईसँग ५० प्रतिशत डाउन पेमन्ट गर्न पुग्ने पैसा छ भने तपाईले मासिक १८ हजार रुपैयाँ किस्ता तिर्नेगरी गाडी किन्न सक्नु हुन्छ । जुन मासिक किस्ता लगभग पेट्रोल बापत लाग्ने खर्चले धान्ने छ ।
अहिले बैंकहरुले विद्युतीय गाडीलाई करिब ११ प्रतिशत व्याजदरमा नै कर्जा उपलब्ध गराएको र ७ वर्ष भित्र लिएको कर्जा भुक्तानी गर्ने सुविधा उपलब्ध हुने भएको कारण ईभी किन्न सहज भएको छ ।
यदि तपाईले २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर टियागो ईभी किन्नु भयो भने तपाईले मासिक किस्ता भने ३० हजार हाराहारी बुझाउनु पर्ने हुन्छ ।
यस्तो छ टियागो
टाटा टियागो मिड रेन्ज एक्सई भेरियन्टमा १९.२ किलोवाट आवरको ब्याट्री र ४५ किलोवाटको मोटर रहेको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्ज गर्दा सिंगल चार्जमा २५० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।
टियागो एक्सई भेरियन्टमा दुई किसिमको ड्राइभिङ मोड र लिक्वीड कुल्ड ब्याट्री मेनेजमेन्ट सिस्टम दिइएको छ । यसले डिसी फास्ट चार्जर सपोर्ट गर्छ भने ७.२ किलोवाटसम्म क्षमता भएका एसी चार्जर पनि सपोर्ट गर्छ ।
सिप्रदीले टियागो ईभीमा रहेको ब्याट्री र मोटरमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्ष जुन पहिला हुन्छ त्यही वारेन्टी दिएको छ । भेहिकल वारेन्टी भने ३ वर्षको दिएको छ ।