अटो शो २०२३: हुन्डाईको स्टलमा ईभी र पेट्रोलको मिश्रण

काठमाडौं । नाडा अटो शोमा हुन्डाईले आफ्नो पछिल्लो माइक्रो एसयूभी एक्सटरदेखि प्रिमियम इलेक्ट्रीक क्रसओभर एसयूभी आयोनीक-५ सम्म प्रदर्शनी गरेको छ । एक्सटर तत्काल बिक्री सुरु नहुने भएको कारण कम्पनीले प्रदर्शनीबाट हटाएको छ भने आयोनीक–५ पनि प्रदर्शनीबाट हटेको छ ।

हुन्डाईले अटो शोमा आफ्नो प्रोडक्ट रेन्ज सबै देखाउने प्रयास गरेको देखिन्छ । कम्पनीले भेन्यू, ग्राण्ड आई १० नियोस, आई २०, क्रेटा र टुसान समेत प्रदर्शनी गरेको छ ।

इलेक्ट्रीक कोना पनि अटो शोमा हुन्डाईले देखाएको छ । नाडा अटो शो नै इलेक्ट्रीकमय बनेको समयमा हुन्डाईले आफ्नो स्टलमा कोना र आयोनीक-५ इलेक्ट्रीक प्रदर्शनी गरेको हो ।

‘रेगुलर मोडल किन्न मानिस अटो शोमा भन्दा पनि शोरुममा गएका छन् । यहाँ प्रदर्शन भएका नयाँ मोडल हेर्ने धेरै मानिसको इच्छा छ । त्यसैले एक्सटरमा धेरैको आकर्षण बन्याे । साथै, चर्चित मोडल क्रेटा र कोनामा पनि राम्रो इन्क्वाइरी छ’, कम्पनीका जनरल मेनेजर दीपक थपलियाले भने ।

विद्युतीय कारमा आकर्षण बढी भइरहेको समयमा हुन्डाईले ल्याएको एक्सटर माइक्रो एसयूभीले अवलोकनकर्तालाई आकर्षित बनाउन सफल भएको छ । कम्पनीले एक्सटरको मूल्य अहिलेसम्म तय गरेको छैन भने तत्काल बिक्री सुरु नहुने कम्पनीको भनाइ छ ।


Back_to_top