काठमाडौं । देश संघीय प्रणालीमा गएसँगै देशभर यातायात सम्बन्धी सेवा प्रवाहमा पनि झिनो सुधार हुँदै गएको देखिन्छ ।सूचना प्रविधिको प्रयोग र सेवा विकेन्द्रीकरणसँगै सेवा प्रवाहमा केही सुधार देखिएको हो ।
यद्यपि, अझै पनि केही सेवा लिन पूरै दिन यातायात कार्यालयमै बिताउनुपर्ने अवस्था छ भने कागजात पाउन २ वर्षसम्म कुर्नुपर्छ ।
हाल चालक अनुमतिपत्र सम्बन्धी आवेदन दिने, नतिजा, लाइसेन्स छपाइको जानकारी, इम्बोस्ड नम्बर जडानका लागि आवेदन, सवारी कर तिर्ने, नवीकरण गर्ने, सवारी रजिस्टर सम्बन्धी कामहरू अनलाइनबाटै हुन्छ । यद्यपि, अनलाइनबाट आवेदन दिए पनि केही प्रक्रिया पूरा गर्न भने कार्यालय धाउनुपर्ने अवस्था छ । त्यस्तै, नामसारी, सवारी दर्ता इम्बोस्ड नम्बर प्लेट जडान, लाइसेन्स प्राप्ति लगायत कामका लागि पनि कार्यालयमा जानुपर्छ ।
२०७४ पछि यातायात क्षेत्रसँग सम्बन्धित अधिकांश काम प्रदेश सरकार मातहतका कार्यालयहरूले गर्दै आएका छन् । सवारी दर्ता, नियमन, कर असुली सबै काम प्रदेशबाटै हुने गरेको छ । साथै, प्रदेशहरूले सेवा कार्यालय पनि विस्तार गरेका छन् । संघीयता अघि २ दर्जन हाराहारीमा रहेको कार्यालयहरूको संख्या अहिले ४३ पुगेको छ । यद्यपि, अझै प्रदेशहरूले जनशक्ति अभाव, कानुनी एकरूपता नहुँदा प्रभावकारी सेवा प्रवाह गर्न सकेका छैनन् । अहिले केन्द्र सरकारको मातहत रहेको यातायात व्यवस्था विभागले लाइसेन्स, इम्बोस्ड नम्बर प्लेट छपाइ, अन्तर प्रदेश रुट परिमिट दिने लगायत सीमित काम मात्रै गर्दै आएको छ ।
केही प्रदेशले सवारी सम्बन्धी सम्पूर्ण काम अनलाइबाटै प्रदान गर्ने व्यवस्था मिलाउन लागेका छन् । बागमती प्रदेशले आफ्नो प्रदेशमा दर्ता भएका सम्पूर्ण सवारीको कागजात (ढड्डाबाट) डिजिटल बनाउने काम सुरू गरेको छ । अब एक डेढ वर्ष भित्रै सबै कागजात डिजिटालाइजेसन भइसक्ने त्यसपछि सम्पूर्ण सेवा अनलाइनबाटै प्रदान गरिने वागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता रामसुन्दर कुसीले बताए ।
विगतको तुलनामा सेवा पाउन सहज, छिटो छरितो भए पनि पर्याप्त नरहेको उनको भनाइ छ । हालै प्रदेशले ब्लूबुक क्यूआर बनाउने सेवा सुरू गरिएको उनले जानकारी दिए । अन्य प्रदेशहरूले पनि आफ्ना कार्यालयहरूको सेवा प्रभावकारी र छरितो बनाउन अनलाइन प्रणालीमा लैजान योजना बनाएका छन् ।
सुधारका बाबजूद अहिले पनि यातायात कार्यालयहरूको सेवा लिन धेरै समय खर्चिनुपर्ने बाध्यता छ । सेवाग्राहीको चाप र प्रदेशमा रहेका यातायात कार्यालयहरूको संख्याका आधारमा खर्चिनुपर्ने समय फरक फरक रहेको छ । यहाँ हामीले देशभरका आधादर्जन कार्यालयका अधिकारीहरूसँग गरेको कुराकानीको आधारमा पाउने सेवा र लाग्ने समयका बारेमा जानकारी दिने प्रयास गरेका छौं ।
लिखित तथा ट्रायल परीक्षा दिन : विगतको तुलनामा अहिले नयाँ लाइसेन्सको परीक्षा दिने मिति पाउन निकै सहज छ । ४/५ वर्षअघिसम्म फारम भरेको ३/४ महिनापछि मात्रै पालो आउँथ्यो । तर, अहिले अधिकांश कार्यालयहरूमा फारम भरेको भोलिपल्टै परीक्षा दिन पाइन्छ ।फारम पनि अनलाइनबाटै भर्न सकिन्छ । कार्यालय पुग्नुपर्दैन । अहिले देशभरका कुनै पनि यातायात कार्यालयहरूले आवेदनमा कोटा तोकेका छैनन । कार्यालयहरूले आफ्नो क्षमता अनुसार दैनिक २०० देखि १ हजारसम्म आवेदन दिने गरेका छन् ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र एकान्तकुनाका सूचना अधिकारी धिरज राउत दैनिक कोटाभन्दा कम नै आवेदन पर्ने गरेको बताउँछन् । यस कार्यालयले दैनिक ८०० सम्म आवेदन एसेप्ट गर्नेमा कहिल्यै पूरै आवेदन नपर्ने गरेको उनको भनाइ छ ।
‘विगतमा चाप धेरै हुँदा कोटा तोकिएको थियो । पछिल्लो समय अधि चाप छैन । दैनिक ८०० सम्म आवेदन लिइने भए पनि सोभन्दा कमले नै फाराम भर्ने गरेका छन्,’ उनले मेरोअटोसँग भने ।
रि ट्रायल : एकपटक ट्रायल फेल भएका व्यक्तिले ३ दिन पछि नै पुनः ट्रायल दिन पाउँछन् । अनलाइन फाराम भरी सम्बनिधत कार्यालयमा गई राजस्व तिरेर रिट्रायल दिन पाइन्छ । रि ट्रालयको मिति पाउन खासै समस्या छैन । हाल अधिकांश कार्यालयहरूमा आज फारम भरेर भोलि नै ट्रायल दिन पाइने व्यवस्था छ । ९० दिनभित्र ३ पटक रिट्रायल दिन पाइने र सो अवधिमा पास हुन नसके अर्को ३ महिना कुर्नुपर्नेछ ।
सवारी कर तिर्न र नवीकरण : यातायात क्षेत्रमा सबैभन्दा सुधार भएको सेवा हो कर तिर्ने । विगतमा कर तिर्नकै लागि समेत सीमित कोटा तोकिएको हुन्थ्यो । आफूले चाहेको दिनमै कर तिर्न सकिँदैन्थ्यो । दिभनरी लाइन बस्नुपर्ने बाध्यता थियो ।
तर, अहिले सवारी कर तिर्न निकै सहज छ । संघीयतापछि देशभर यातायात कार्यालयको संख्या थपिँदा सेवाग्राही बाँडिएका छन् । हाल कर तिर्न र नवीकरण गर्न धेरैमा डेढ २ घण्टाभन्दा बढी समय लाग्दैन । बागमती प्रदेशमा अनलाइनबाटै समेत कर तिर्न सकिन्छ । यद्यपि, अनलाइनबाट करि तिरे पनि ब्लू बुकमा छाप लगाउन सम्बन्धित कार्यालयमा जानुपर्ने बाध्यता भने छ । यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराका सूचना अधिकारी गोविन्दराज शिवाकोटी कर तिर्ने काम १० देखि ३० मिनेट मात्रै लाग्ने गरेको बताउँछन् ।
यातायात व्यवस्था कार्यालय सानाठूला सवारी, एकान्तकुनाका सूचना अधिकारी अम्बिक घिमिरेले सवारी कर तिर्न बढीमा आधा घण्टाभन्दा बढी लाग्ने अवस्था नरहेको बताए ।
लाइसेन्स पाउन २ वर्ष बढी कुनुपर्ने : अहिले यातायात कार्यालयबाट सबैभन्दा ढिला पाइने सेवा हो लाइसेन्स प्राप्ति । ट्रायल पास गरेका र नवीकरण गर्न राजस्व तिरेपछि लाइसेन्स हात पर्न २ वर्षसम्म कुर्नुपर्ने अवस्था छ । सन् २०२३ मा आवेदन दिएकाले अझै लाइसेन्स पाउन सकेका छैनन् भने अझै कहिले पाउँछन् त्यो पनि टुंगो छैन । यद्यपि, साथमा लाइसेन्स कार्ड नभए पनि राजस्व तिरेको रसिदकै आधारमा सवारी साधन चलाउन भने पाइन्छ ।
विभागले वैदेशिक रोजगार, अध्ययन, अन्तर्राष्ट्रि शान्ति मिसन, कुटनीतिक नियोगका पदाधिकारीलाई भने छुट्टै व्यवस्था गरी तीन दिनभित्रै अत्यावश्यक लाइसेन्स उपलब्ध गराउँदै आएको छ ।
हाल लाइसेन्स छपाइको काम यातायात व्यवस्था विभागले मात्रै गर्दै आएको छ । प्रदेशहरूले पनि लाइसेन्स छाप्ने निर्णय गरे पनि काम सुरू गर्न सकेका छैनन् । केन्द्रको मात्रै भरपर्दा सेवाग्राहीले २ वर्षसम्म लाइसेन्स पाउन नसकेका हुन् ।
विभागले लाइसेन्स छपाईलाई तीव्रता दिन सेक्युरिटी प्रिन्टिङ प्रेसलाई सम्झौता गरिसकेको विभागको सूचना प्रवधि शाखा प्रमुख केशव खतिवडाले जानकारी दिए । उनका अनुसार हालसम्म ३० लाख लाइसेन्स छाप्न बाँकी छ ।
‘स्वदेशमै लाइसेन्स छाप्न मुद्रण केन्द्रसँग सम्झौता भइसकेको छ । असार मसान्तसम्म पहिलो चरणको उत्पादन सुरू गर्ने सहमति छ,’ उनले मेरो अटोसँग भने, ‘केन्द्रले छाप्न थालेपछि वेटिङ पिरियड घट्छ ।’
सबैभन्दा छिटो पाइन्छ इम्बोस्ड नम्बर : यातायात कार्यालयहरूबाट अहिले सबैभन्दा छिटो पाइने सेवा हो इम्बोस्ड नम्बर जडान । इम्बोस्ड जडानका लागि सवारीधनीले अनलाइन आवेदन दिनुपर्छ । त्यसपछि सम्बन्धित यातायात कार्यालयमा गएर जडान गर्नुपर्छ । इम्बोस्ड जडानमा सेवाग्राहीको चाप नरहेकाले आएको १०/१५ मिनेटमै काम सकिने गुर्जुधारका सूचना अधिकारी शिवाकोटीले जानकारी दिए । एकान्तकुनामा पनि १५/२० मिनेटमै जडान हुने सूचना अधिकारी घिमिरेले बताउँछन् ।
हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा इम्बोस्ड जडान सुरू भएको छ । अरु प्रदेशले अझै सुरू गरेका छैनन् । विभागले २०७३ देखि इम्बोस्ड जडान सुरू गरे पनि हालसम्म ७१ हजारले मात्र जडान गरेका छन् । नामसारी हुने र नयाँ दर्ता हुने सवारी साधनमा इम्बोस्ड अनिवार्य छ । तर, प्रदेश कार्यालयहरूले कडाइका साथ कार्यान्वयन गर्न सकेका छैनन् । नयाँ सवारी दर्ता गर्दा इम्बोस्डका लागि आवेद दिएका सेवाग्राही समेत जडान गर्न गएको पाइँदैन ।
ब्लूबुकको क्यूआर लिन : यो सेवा हाल बागमती प्रदेशले मात्र सुरु गरेको छ । सवारीधनीले अनलाइन मार्फत आवेदन दिएपछि मिति बुक गरी सक्कल कागजात र परिचयपत्र लिएर जानुपर्छ । यो सेवाका लागि भने गुर्जुधारा कार्यालयमा दैनिक ७० वटा कोटा तोकिएको सूचना अधिकारी शिवाकोटीले जानकारी दिए । यदि, कुनै सेवाग्राही आफ्नो बुकिङ मितिभन्दा अगावै आएमा पनि सेवा दिने गरिएको उनको भनाइ छ ।
प्रदूषण जाँचपास : चारपाँग्रे सवारीले हरेक वर्ष प्रदूषण जाँचपास गराउनुपर्छ । जसमा लागि सवारी साधनै लिएर यातायात कार्यालयहरूमा जानुपर्छ । केही कार्यालयमा एक/ डेढ घण्टामै काम सकिन्छ भने केहीमा पालो कुर्दा ३/४ घण्टासम्म लाग्ने गरेको छ ।
नामसारी : अहिले पनि सवारी साधनको नामसारी गर्न सकसै छ । यातायात कार्यालयमा सवारी सधान लगी जाँचपास गराएपछि मात्रै नामसारी हुन्छ । देशभरका सबै कार्यालयमा नामसारी हुँदैन । सीमित कार्यालयहरूमा मात्र हुने भएकाले अन्य सेवाको तुलनामा नामसारीमा सेवाग्राहीको चाप देखिन्छ ।
देशकै सबैभन्दा धेरै मोटरसाइकल दर्ता रहेको गुर्जुधाराबाट नामसारी गर्दा साढे २/३ घण्टा लाग्ने कार्यालयका सूचना अधिकारी गोविन्दराज शिवाकोटीले बताउँछन् । तर, सेवाग्राहीले भने दिनभरी लाग्ने गुनासो गरेका छन् । देशभरका अन्य कार्यालयहरूमा पनि नामसारी गर्न २ घण्टादेखि दिनभरीसम्म लाग्ने गरेको छ ।
यी बाहेकका सवारी दर्ता, रुटपरमिट, बाटो इजाजत, नवीकरण लगायत कामका लागि पनि खासै धेरै समय नलाग्ने यातायात कार्यालयहरूका अधिकारीहरू बताउँछन् ।