मासिक ५० हजार आम्दानी हुनेले सजिलै किन्न सक्ने कार (भिडियो रिभ्यू)

काठमाडौं । नेपालमा समान्य कार किन्न पनि मोटै आम्दानी हुनुपर्छ । तपाईंको मासिक कमाइलाई आधार मानेर बैंकहरूले कर्जा स्वीकृत गर्छन् । यस्तोमा मासिक २० हजार किस्ता तिर्न पनि कमाइ ५० हजार हुनैपर्छ ।

डोङफेङ ग्रुप अन्तर्गतको सेरेसले उत्पादन गरेको मिनी ईभीको टप भेरियन्ट नै १८ लाख ९९ हजार रुपैयाँमा किन्न पाइन्छ । यसको मासिक किस्ता १५ हजार ८१९ रुपैयाँ मात्रै पर्छ । त्यसको लागि सुरूमा बुझाउनु पर्ने ४० प्रतिशत डाउन पेमेन्ट बापतको ७ लाख ५९ हजार ६०० रुपैयाँ भने तपाईंसँग हुनु पर्छ ।

त्यसपछि बाँकी रकम ११ लाख ३९ हजार ४०० रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनुपर्छ । उक्त कर्जा ८४ किस्तामा तिर्न सकिन्छ । अहिले बैंकहरूले ७.५ प्रतिशत ब्याजदरमै कर्जा सुविधा उपलब्ध गराएका कारण किस्ता बापतको रकम १६ हजारभन्दा कम पर्न गएको हो ।

टेस्ट ड्राइभ अनुभव

नेपालमा एमएडब्लू वृद्धिले बिक्री गर्दै आएको सेरेसको मिनी ईभी सहरी यात्राको लागि निकै उपयोगी मोडल हो । सहर भित्रका साँघुरा बाटाहरूमा सजिलै चलाउन सकिने, सानो स्पेशमा पार्किङ गर्न पुग्ने भएको कारण घरमा सानो पार्किङ हुनेको रोजाइमा पनि पर्न सक्छ ।

हामीले काठमाडौंको न्यूरोड, बसन्तपुर, भेडासिंह जस्ता गल्लीदेखि दरबार मार्ग र चक्रपथमा यसलाई चलाएर हेरका थियौं । उक्त ड्राइभबाट १६.८ किलोवाट आवरको ब्याट्रीले १६० किलोमिटरसम्म रेन्ज दिने हामीले पायौं । यो रेन्ज उपत्यकामा औषत यात्रा गर्नेको लागि एक साताको लागि नै पुग्न सक्छ ।

सेरेस मिनी ईभीको टप भेरियन्टमा ३० किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । दुई ढोका र चार सिट क्षमता भएको कार ह्वाइट र स्काई ब्लू कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

निकै स्मार्ट हेडलाइट, हेडलाइटलाई घेरेर तयार पारिएको डे टाइम रनिङ लाइट, १३ इन्चको स्मार्ट ह्वील र आकर्षक बडी डिजाइनले तान्छ । सानो स्मार्ट मिनी कारमा १० इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट स्कृन, ७ इन्चको इन्ट्रुमेन्ट क्लस्टर, कप होल्डर, एयर कन्डिसन र हिटर पाउन सकिन्छ । एसी र हिटरको प्रयोग निकै सहज छ । पछाडिको सिट फ्ल्याट फोल्ड गर्न मिल्ने भएकाले कार्गो बोक्नुपर्दा पनि कुनै समस्या हुँदैन ।

इको र स्पोर्टस ड्राइभिङ मोड, ड्राइभर साइड एयरब्याग, एबीएस विथ ईबीडी, ईबीए र टीसीएस, अटो होल्ड, रियर पार्किङ क्यामरा र सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल असिस्ट, अटो होल्ड, क्रुज कन्ट्रोल र चारै चक्कामा डिस ब्रेक यसको बलियो पक्ष हो ।

दुई ढोका भएको कारमा पछाडि जान केही कम्परमाइज गर्नुपर्छ । सिटको बनोट उत्कृष्ट छ । स्टेरिङ ह्वील निकै सहज लाग्छ । १६४० एमएम हाइट भएको कारमा पाइने हेडरूमको त कुरै गर्नु पर्दैन ।


Back_to_top