काठमाडौं । ललितपुरको खोकना र बुङमतीबासीले काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को प्रस्थान बिन्दु ५ किलोमिटर पर सार्न प्रस्ताव गरेका छन् ।
सोमबार प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटी स्थानीयले फास्ट ट्रयाकको सुरू बिन्दु खोकनाको जग्गा विवाद र समाधानको लागि यस्तो सुझाव दिएका हुन् ।
तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल लगायतको टोलीले प्रधानमन्त्रीलाई भेटी खोकना जग्गा विवाद बारे छलफल गरेका हु्न् ।
उनीहरूले खोकनामा सुरूविन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे ५ किलोमिटर तल डुकुछापमा कायम गर्न सुझाव दिएका हुन् ।
प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नुपूर्व आफू एक पटक स्थलगत अवलोकनमा आउने जानकारी गराए।
यसअघि प्रधानमन्त्री ओलीले गत माघ २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाको प्रगति र देखिएका समस्या समाधानका लागि छलफल गरेका थिए।
नेपाली सेनाका अनुसार फास्ट ट्रयाकमा कुल १७ हजार ६५१ रोपनी जग्गा अधिग्रहण गनुपर्ने छ । जसमा व्यक्तिगत जग्गा ५ हजार ४८७ रोपनी रहेको छ । हालसम्म ५ हजार २०४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित भएकोमा ४ हजार ८१८ रोपनी जग्गा अधिग्रहण सम्पन्न भइसकेको सेनाले जनाएको छ । १६५ रोपनी जग्गाको मूल्य निर्धारण हुन बाँकी छ ।
बजेटका आधार फास्ट ट्रयाक देशकै सबैभन्दा ठूलो निर्माणाधीन आयोजना हो । आयोजनाको सुरूआती लागत १ खर्ब ७५ अर्ब रुपैयाँ भनिए पनि हाल बढेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । हालसम्म ७५ अर्ब १६ करोड रुपैयाँ खर्च भइसकेको छ ।
२०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेको यो सडकको हालसम्म भौतिक प्रगति ३९.३४ प्रतिशत र वित्तीय प्रगति ४०.६ प्रतिशत पुगेको छ । यसको अन्तिम पटक थपिएको म्याद २०८३ चैतसम्म छ ।
कुल ७०.९७७ किलोमिटर लम्बाइको यस सडकलाई १३ प्याकेजमा विभाजन गरी निर्माणको काम भइरहेको छ । तीमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० कार्यान्वयनका चरणमा छन् ।
७०.९७७ किमी मध्ये ६४.४७ किमीको ठेक्का लागिसकेको छ भने ६.५ किमीको मात्र ठेक्का लाग्न बाँकी छ । प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना-बुंमती खण्डमा जग्गा अधिग्रहण सम्बन्धी समस्या साथै द्रुतमार्गको सुरू बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकोले खरिद प्रक्रिया सुरू हुन बाँकी रहेको छ ।
फास्ट ट्रयाकमा कुल १०.९७९ किमी लम्बाइका ७ वटा सुरुङ निर्माण हुने छन् । जसमा हालसम्म लेनडाँडाको १६२३ मिटर र धेद्रेको १६९१ मिटरको सुरुङ ब्रेक थ्रु भइसकेको छ । त्यस्तै, ३३५५ मिटर लामो महादेवटार सुरुङको ६५ प्रतिशतभन्दा बढी काम सकिएको छ । त्यसैगरी, २२५० मिटर लामो चन्द्रामभीर सुरुङको ९१.०३ मिटर खनिएको छ । १ हजार मिटर लामो देवीचौर र ३९० मिटर लामो सिसौटार सुरुङको पोर्टल तयारी कार्य भइरहेको छ । ५८३ मिटरको मौरीभिर सुरुङको खरिद सम्झौताका लागि मन्त्रिपरिषद्बाट स्वीकृत भएको सेनाले जनाएको छ ।
फास्ट ट्रयाकमा विभिन्न स्थानमा कुल १२.८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । तीमध्ये ८५ पुलको ठेक्का लागिसकेको छ भने खोकना खण्डका ४ वटा पुलको ठेक्का लाग्न बाँकी छ । निर्माणधीन पुलहरूको फाउण्डेसन, सबस्ट्रक्चर र सुपर स्ट्रक्चरको काम भइरहेको छ । निर्माणाधीन मध्ये हालसम्म ५ वटा पुल बनिसकेका छन् भने चालु आव भित्र २० वटा सम्पन्न हुने सेनाले जनाएको छ । फास्ट ट्रयाकमा ८१ मिटरसम्म अग्लो पुल निर्माण भइरहेको छ ।
त्यस्तै, आयोजना अन्तर्गत हालसम्म ४४ हजार ४२० रुखहरू कटान भएको छ । कटान भएका रुखको बदलामा हालसम्म जम्मा ७ लाख ५ हजार ५५२ विरुवा रोपिएको सूचना अधिकारी केसीले जानकारी दिए ।
फास्ट ट्रयाक पहाडी भू-भागमा २५ मिटर र तराई भू-भागमा २७ मिटर फराकिलो हुनेछ । ४ वटा जिल्लामा पर्ने फास्ट ट्रयाक अन्तर्गत काठमाडौंमा ४.६ किमी, ललितपुरमा ९ किमी, मकवानपुर ४९.७७ र बारामा ७.६ किमी सडक रहने छ । फास्ट ट्रयाको प्रवेश विन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको छ । जसमा खोकना, बुदुने र निजगढमा एक/एक वटा इनटरचेञ्ज र ट्रोल प्लाजा निर्माण गरिनेछ । बुदुनेमा दुई वटा विश्रामस्थल निर्माण हुनेछ ।
द्रुतमार्ग सम्पन्न भएपछि तराईबाट काठमाडौंसम्मको दूरी ४ घण्टाले छोटिने छ भने सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ ।