काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमतीमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माण सुरू भएको छ । पप्पु कन्स्ट्रक्सनले ११ वर्षदेखि अलपत्र पारेको उक्त पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइएको हो ।
नयाँ ठेक्का पाएको निर्माण कम्पनी वाइपी किँरातेश्वर जेभीले फिल्डमा काम सुरू गरेको हो ।यद्यपि, नयाँ ठेकेदारले पनि ठेक्का सम्झौता सकिएपछि काम सुरू गरेको हो । पप्पुसँग ठेक्का सम्झौता तोडी ४२ महिना भित्र काम सक्ने गरी २०७९ वैशाख १० गते नयाँ ठेक्का सम्झौता गरिएको थियो । सो अनुसार उक्त पुल २०८२ माघ १० भित्र सम्पन्न हुनुपर्थ्यो ।
तर, डिजाइन स्वीकृतिमै ३ वर्ष बितेपछि बल्ल काम सुरू भएको हो । काठमाडौं चक्रपथ सुधार योजनाका सूचना अधिकारी राम विहारी चौधरीले निर्माण कम्पनीले साइटमा काम सुरू गरेको जानकारी दिए । उनका अनुसार अहिले निर्माण कम्पनीले आवश्यक उपकरण, निर्माण सामग्री जुटाउनेसँगै पूर्वतयारीको काम गरिरहेको छ ।
‘विभिन्न कारणले डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा कम्पनीले काम सुरू गर्न सकेको थिए । डिजाइन तेस्रो पक्षबाट भेरिफाइ भई कार्यादेश भएसँगै ठेकेदारले काम सुरू गरेको छ,’ उनले मेरोअटोसँग भने । यसअघि देखिएका अधिकांश समस्या समाधान भइसकेकाले अब कामले गति लिने उनको भनाइ छ ।
उनका अनुसार यसअघि पप्पुले निर्माण गरेका तीनमध्ये दुई फाउण्डेसन भत्काइ पूरै नयाँ निर्माण गरिने छ । यो ठेक्का डिजाइन एण्ड बिल्ड मोडलमा लगाइएकाले पुलको डिजाइनदेखि निर्माणसम्मको सबै काम ठेकेदारले नै गर्ने उनले बताए । कम्पनीले २४ करोड ५९ लाख ६७ हजार रुपैयाँमा ठेक्का पाएको हो ।

तीनकुने आर्क ब्रिज निर्माणका लागि पहिलोपट २०७१ पुस ४ गते पप्पुसँग ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार २०७५ असार ५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । सो अवधिमा पप्पुले करिब २५ प्रतिशत मात्र काम गरेर थियो । साथै, कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको थियो ।
उक्त त्रुटि सच्चयाइ काम अघि बढाउन पटकट पटक निर्देशन दिँदा समेत अटेरी गरेपछि २०७६ मा ठेक्का तोडी पप्पुलाई कालोसूचीमा राखिएको थियो । त्यसपछि पप्पु अदालत गएसँगै नयाँ ठेक्का प्रक्रियामा जान ढिलाइ भएको थियो ।
सडक विभागले २०७१ एकैपटक तीनकुने र बिजुलीबजारमा आर्क ब्रिज निर्माण सुरू गरेको थियो । बिजुलीबजार पुल ६ वर्ष अघि नै संचालनमा आएपनि तीनकुने भने अलपत्र बनेको थियो ।
यस्तो बन्नेछ पुल
यो पुल बिजुलीबजारमा निर्माण भएजस्तै डिजाइनको हुनेछ । सूचना अधिकारी चौधरीका अनुसार कुल ८५ मिटर लामो आर्क ब्रिज १६ मिटर फराकिलो हुनेछ । जसमा १२ मिटरमा गाडी गुड्ने, २ मिटर फूटपाथ र दुवैतर्फ १.२/१.२ मिटर गरी पुलको बीमको भाग रहने छ । पुलको आर्क संरचना १५.७५ मिटर अग्लो हुनेछ ।

पुलको फाउण्डेसन निर्माण गर्न पाइल र पाइल क्याप प्रविधि प्रयोग गरिनेछ । प्रत्येक फाउण्डेसनमा १.२ मिटर व्यास र ३६ मिटर लम्बाइका २०/२० वटा गरी ४० वटा पाइल राखिने छ।
म्याद थप्न प्रस्ताव
निर्माण सम्पन्न गर्नुपर्ने बेलामा काम सुरू भएपछि निर्माण व्यवसायीले म्याद थप्न प्रस्ताव गरेको छ । डिजाइन स्वीकृतिमा ढिलाइ भएको भन्दै ठेकेदारले ३ वर्ष म्याद थप्न माग गरेको सूचना अधिकारी चौधरीले बताए ।
निर्माण कम्पनीले बैंक ग्यारेन्टी राख्नुपर्ने लगायत प्रक्रिया पूरा गरेपछि म्याद थप प्रक्रिया अघि बढाइने उनले बताए । ‘ निर्माण कम्पनीले डिजाइन स्वीकृतिमा ढिलाइ भएको कारण देखाउँदै ३ वर्ष म्याद थप्न माग गरेको छ । उसले म्याद थपका लागि आवश्यक बैंक ग्यारेन्टी राख्ने लगायत काम गरेपछि प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
यो पुल निर्माण सम्पन्न भएपछि काठमाडौं र भक्तपुर आवतजावत गर्न थप सहज र तीनकुने-शान्तिनगर क्षेत्रको जाम कम हुनेछ । अहिले सर्भिस लेनबाट आवजाउ गर्दै आएका सवारी सिधै वारपार गर्न सक्नेछन् ।
साथै, बागमती करिडोरको समग्र यातायात व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ । यो पुललाई पनि बिजुलीबजारको जस्तै आकर्षक बनाई सहरी सौन्दर्य बढाइने योजना छ ।

