काठमाडौं । विद्युतीय कारको लागि तत्काल ठूलो सम्भावना नदेखिएको भारतमा ६ महिनादेखि ठूला कार निर्माताको ईभी बिक्री एउटै रफ्तारमा देखिएको छ ।
भारतमा ईभी उत्पादन बिक्रीमा पहिलो स्थान टाटा मोटर्सले लिएको छ । दोस्रो स्थानमा एमजी र तेस्रो स्थानमा महिन्द्रा छन् । यी तीनवटै ब्राण्डको उत्पादन र बिक्री रफ्तार लगभग एउटै छ ।
सन् २०२५ अगस्टदेखि २०२६ जनवरीसम्मको ६ महिनामा ९९ हजार ४१ युनिट विद्युतीय कार बिक्री भएको फाडा रिसर्च एजेन्सीले तथ्यांक सार्वजनिक गरेको छ ।
भारतमा अहिले बिभिन्न ११ ब्राण्डले आफ्नो विद्युतीय कार बिक्री गर्दै आएका छन् । जसमा टाटा सबैभन्दा अगाडि देखिएको छ । टाटाले विगत ६ महिनामा ४१ हजार १८६ युनिट ईभी बिक्री गरेको छ । जुन कुल बिक्रीको ४१.५८ प्रतिशत हो ।
धेरै ईभी बिक्री गर्ने ब्राण्डको सूचीमा दोस्रो स्थान एमजीले पाएको छ । चिनियाँ एसएआइसी र भारतीय ग्रुप जेएसडब्लूको लगानी रहेको एमजीले २५ हजार १९७ युनिट विद्युतीय भेहिकल बिक्री गरेको देखिन्छ । जुन विगत ६ महिनाको आधारमा २५.४४ प्रतिशत हो ।
तेस्रो स्थानमा महिन्द्रा देखिएको छ । खासगरी बीई सिक्स र एक्सईभी नाइन बजारमा ल्याएसँगै महिन्द्राका ईभी राम्रो संख्यामा बिक्री हुँदै आएको छ । त्यसैले निरन्तर महिन्द्रा तेस्रो स्थानमा देखिन्छ । अगस्ट २०२५ देखि जनवरी २०२६ सम्ममा महिन्द्राले २० हजार ३८३ युनिट विद्युतीय कार बिक्री गरेको छ । जुन बजार हिस्साको आधारमा २०.५८ प्रतिशत बराबर हो ।
यी तीन बाहेक अन्य ब्राण्डको बिक्री निकै कम देखिएको छ । विगत ६ महिनाको बिक्री तथ्यांक अनुसार चौथो स्थानमा किया देखिन्छ । उसले २ हजार ६९४ युनिट ईभी बेच्दा, बीवाइडीले २ हजार ४६० र हुन्डाईले २ हजार ३४९ युनिट बेचेको छ ।
यसका अलावा बीएमडब्लू १ हजार ९२२ युनिट ईभी बिक्री गर्दा भेतनामी ब्राण्ड भिनफास्टले १ हजार २३३ युनिट ईभी बिक्री गरेको फाडाले जनाएको छ ।
अर्को लग्जरी ब्राण्ड मर्सिडिज बेन्जले ४७१ र टेस्लाले २५७ युनिट ईभी बिक्री गर्दा भारतकै सबैभन्दा ठूलो कार निर्माताले डिसेम्बर र जनवरी गरी दुई महिनामा २२४ युनिट बिक्री गरेको देखिन्छ ।


