काठमाडौं । नेपालमा दर्ता भएका सवारीसाधनकाे संख्या साढे ५८ लाख नाघेको छ । यातायात व्यवस्था विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म देशभर सवारी साधनको संख्या ५८ लाख ५० हजार ४३२ पुगेको हो ।
विभागका सूचना अधिकारी गणेशमान सिं राईले देशभरका यातायात कार्यालयहरूमा दर्ता भएको सवारी संख्या साढे ५८ लाख पुगेको बताए । उनका अनुसार सबै कार्यालयहरूले दिएको तथ्यांक जोडर उक्त कुल सवारीको संख्या निकालिएको उनले बताए ।
‘गत आवसम्म देशभर सवारीको संख्या साढे ५८ लाख पुगेको छ । देशभरका सबै कार्यालयहरूले दिएको तथ्यांक जोडेर कुल संख्या निकालिएको हो,’ उनले मेरोअटोसँग भने ।
यद्यपि, दर्ता भएका सबै सवारी साधन भने संचालनमा नरहेको उनले बताए । ‘दर्ता भएका सबै सवारी संचालनमा छैनन् । केहीको लगत कट्टा गरिएको छ । केही वर्षौंदेखि त्यतिकै थन्किएर बसेका छन्,’ उनले भने ।
८१ प्रतिशत मोटरसाइकल
देशभर दर्ता भएका कुल सवारी मध्ये ८१.०९ प्रतिशत मोटरसाइकल (स्कुटरसहित) रहेका छन् । देशभर ४७ लाख ४४ हजार ७२ वटा मोटरसाइकल दर्ता भएको विभागको तथ्यांक छ ।
त्यस्तै, दोस्रो धेरैमा निजी कार, जिप भ्यान रहेका छन् । देशभर ३ लाख ६६ हजार ७३२ वटा कार, जिप, भ्यान दर्ता भएका छन् । यो कुल सवारीको ६.२६ प्रतिशत हो ।
विभागको तथ्यांक अनुसार नेपालमा बस ७१ हजार ५७७, मिनीबस/ट्रक ४१ हजार ९८६, क्रेन, डोजर, एस्काभेटर, लोडर, रोलर १ लाख २९ हजार ११९ र पिकअप गाडीको संख्या ९१ हजार ४८३ वटा छ ।
त्यस्तै, माइक्रोबस १२ हजार ५७५, टेम्पो १ लाख ११ हजार ३५२, ट्याक्टर १ लाख ९० हजार ६४, ई-रिक्सा ७३ हजार ६०६ र अन्य १७ हजार ८७५ रहेको विभागको तथ्यांक छ ।
१ वर्षमै थपिए झण्डै साढे २ लाख
पछिल्लो समय नेपालमा नयाँ सवारीको बिक्री ह्वात्तै बढेको विभागको तथ्यांकले देखाएको छ । गत आवमा मात्रै देशभर २ लाख ४२ हजार ४४१ वटा नयाँ सवारी दर्ता भएका छन् ।
पछिल्लो ७ वर्षमा मात्रै देशभर २० लाख सवारी थपिएका छन् । नेपालमा प्रजातन्त्र आएको वर्ष (आव २०४६/४७) देखि २०७६/७७ सम्म कुल ३८ लाख ३६ हजार ५०७ सवारी साधन रहेकोमा गत वर्ष आइपुग्दा बढेर साढे ५८ लाख पुगेको हो ।

