कम मूल्यमा ‘रियर ह्वील ड्राइभ’ एसयूभी खोज्नेलाई ४ विकल्प

काठमाडौं । खासगरी कुनै समय स्पोट्स र लग्जरी कारमा हुने ‘रियर ह्वील ड्राइभ सिस्टम’ ईभीको विकाससँगै बजेट कारमा पनि उपलब्ध हुन थालेको छ । अहिले नेपालमा ४० देखि ६० लाख रुपैयाँ तिर्दा रियर ह्वील ड्राइभ एसयूभी नै पाउन सकिने भएको हो ।

रियर ह्वील ड्राइभ गाडीलाई किन विशेष मानिन्छ भन्ने जिज्ञासा पनि धेरैको मनमा हुन सक्छ । रियर ह्वील ड्राइभ सिस्टममा ‘५० वाई ५०’को वेट डिष्ट्रिव्यूसन गरिएको छ । त्यसैले गाडीको टर्क ‘आउट पुट’ एकदमै राम्रो हुन्छ । फ्रन्ट ह्वील ड्राइभको तुलनामा रियर ह्वील ड्राइभ गाडीको एक्सीलरेसन र ब्रेकिङ समेत राम्रो मानिन्छ ।

नेपाल जस्तो खराब बाटो भएका ठाँउमा फ्रन्ट ह्वील ड्राइभको तुलनामा रियर ह्वील ड्राइभ गाडी निकै उपयोगी हुन्छ । फ्रन्ट ह्वील गाडी हल्का हिलो, चिप्लो वा गेग्रान बाटोमा चलाउन मुस्किल हुन्छ । तर, रियर ह्वील गाडीको पर्फमेन्स राम्रो हुनेछ ।

अर्को महत्वपूर्ण कुरा रियर ह्वील ड्राइभ गाडीले अर्को गाडी तान्नु परेको खण्डमा पनि राम्रो मानिन्छ । फ्रन्ट ह्वील ड्राइभ गाडीमा पावर पनि अगाडि कै चक्कामा लाग्छ । त्यसैले अगाडि धेरै टर्क हुन्छ र हार्ड एक्सीलरेसन गर्दा कार साइड तिर भाग्छ । तर, रियर ह्वील ड्राइभ सिस्टम भएका कारको पछाडि पावर र टर्क प्रयोग हुने हुँदा यस्तो समस्या हुँदैन ।

रियर ह्वील सिस्टम भएका गाडी टिकाउ हुने मानिन्छ । साथै, फ्रन्ट ह्वील ड्राइभ कारको तुलनामा रियर ह्वील ड्राइभ कारको जीवनभरको मर्मत खर्च समेत कम हुन्छ ।

नेपाली बजारमा उपलब्ध कम मूल्यमा किन्न पाइने रियर ह्वील ड्राइभ सिस्टम भएका एसयूभीहरु यस प्रकार छन् ।

४. जेको जे सिक्स

ओमोडा/जेकोको आधिकारीक बिक्रेता एसपीजी अटोमोबाइल प्रालिले बिक्री गर्दै आएको जे सिक्स एसयूभी ६५ लाख ९९ हजारमै किन्न पाइन्छ । जे सिक्स एउटा लाइफ स्टाइल प्रोडक्टको रुपमा उपभोक्ताले प्रयोग गर्दै आएका छन् ।

नेपाली बजारमा एउटा मात्रै भेरियन्टमा किन्न पाइने जेको जे सिक्समा १३५ किलोवाट पीकपावर भएको रियर ह्वील ड्राइभ मोटर छ । यसमा ६५.६९ किलोवाट आवरको एलएफपी ब्याट्री छ । जसले सिंगल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिन्छ ।

३. लिपमोटर बी-१०

गत नाइमा मोविलिटी एक्स्पोमा लन्च भएको लिपमोटरको बी-१० पनि रियर ह्वील ड्राइभ भएको उत्कृष्ट क्रसओभर एसयूभी हो । साँग्रिला मोटर्सले नेपालमा बिक्री गर्दै आएको बी-१० दुई फरक भेरियन्टमा उपलब्ध छ । ५६ र ६७ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा पाइने बी-१०को सुरुवाती मूल्य ४९ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ५६ लाख ९९ हजार तोकिएको छ ।

लीपमोटरले बी-१० एसयूभीमा १६० किलोवाटको पावरफुल मोटर दिएको छ । यसको टप भेरियन्टले ४६० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

२. दीपल एस-०५

गत महिना मात्रै लन्च भएको दीपलको कम्प्याक्ट एसयूभी एस-०५ पनि रियर ह्वील ड्राइभ सिस्टम भएको क्रसओभर कार हो । दीपलको एस-०५ मोडल प्लस र म्याक्स गरि दुई भेरियन्टमा किन्न पाइन्छ । यसमा ५६.१ किलोवाट आवरको ब्याट्री प्याक छ ।

एमएडब्लू वृद्धिले नेपाल ल्याएको एस-०५ एसयूभीमा ९९ किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर छ । सिंगल चार्जमा एस-०५ एसयूभीले ४०० किलोमिटरको रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

१. एमजी एस फाइभ

नेपाली बजारमा किन्न पाइने सबैभन्दा कम मूल्यको रियर ह्वील ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्स भएका एसयूभी एमजी एस फाइभ हो । यसको पछाडि मोटर दिइएको छ । साथ्र, मल्टिलिङ्क सस्पेन्सनको सहायताले यसको ह्याण्डलिङ र पफर्मेन्स निकै राम्रो छ ।

रियर ह्वील ड्राइभ भएको एमजी एस फाइभ तीन भेरियन्टमा किन्न पाइन्छ । यसको कम्फर्ट भेरियन्टको मूल्य ४३ लाख ९९ हजार छ । अहिले कम्पनीले १ लाख रुपैयाँ छुट दिइरहेको छ । एमजी एस फाइभमा ४९ किलोवाट अवारको ब्याट्री र ९९ किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । यसले एक पटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज दिन्छ ।

यी मोडल बाहेक पनि एमजी फोर ईभी, दिपल एस-०७, बीवाइडी सिलायन सेभेन, आईएम सिक्स, जिकर एक्स, एक्सपेङ जी सिक्स र अबतार-११ पनि रियर ह्वील ड्राइभमा उपलब्ध छन् ।


Back_to_top