काठमाडौं । विश्वभर एक वर्षमै १० लाख यूनिटभन्दा धेरै विक्री हुने टोयोटा र्याभफोर सर्वाधिक सफल मोडल मानिन्छ । संसारका धेरै देशमा विक्री हुने र्याभफोर अमेरिका, यूरोप र एशियाली देशहरुमा निकै सफल एसयूभी हो ।
अहिले अन्तर्राष्ट्रिय बजारमा हाइब्रिड र रेगुलर आइसी इन्जिनमा उपलब्ध र्याभफोरको फुल इलेक्ट्रीक भर्सन आउँछ वा आउँदैन भन्ने विषयमा कुनै जानकारी सार्वजनिक भएको छैन । यद्यपी टोयोटाले यही वर्ष बजारमा ल्याउने ‘बीजेड फोर एक्स’ लाई धेरैले र्याभफोर कै इलेक्ट्रीक भर्सन हुने बताइरहेका छन् ।
टोयोटाले सन् २०२१ अप्रिलमा भएको संघाई अटो शोमा पहिलो पटक देखाएको ‘बीजेड फोर एक्स’ टोयोटाको पहिलो फुल इलेक्ट्री एसयूभी हुनेछ । टोयोटाले अर्को जापानी कार निर्माता सुबरुसँग मिलेर बनाइरहेको ‘बीजेड फोर एक्स’ टोयोटाको इ-टीएनजीए प्लेटफर्ममा आउने छ । यो एसयूभी अलह्वील ड्राइभ अप्सनमा आउने छ ।
आधुनिक सुरक्षा फिचर, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, फ्लोटीङ इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्टफोनबाटै कन्ट्रोल गर्न सकिने धेरै फिचर बीजेड फोर एक्समा रहने जनाइएको छ ।

सन् २०२५ सम्ममा थप ६ नयाँ मोडल बीजेड सिरिजमा ल्याउने गरी टोयोटाले काम गरिरहेको जनाएको छ । कम्पनीको पहिलो इलेक्ट्रीक एसयूभी बीजेड फोर एक्सको लम्बाई ४६९० एमएम, चौडाई १८६० एमएम, उचाई १६५० एमएम र ह्वीलवेस २८५० एमएम रहेने छ ।
साइज लगायत धेरै कुरा र्याभफोरसँग मिल्दो जुल्दो भएकै कारण टोयोटाले आफ्नो सफल मोडलको इलेक्ट्रीक भर्सन ल्याउने तयारी गरेको चर्चा भइरहेको हो ।
टोयोटाले बीजेड फोर एक्समा ७१.४ किलोवाट आवरको व्याट्री र १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिने जनाएको छ । यसले एक पटकको फुल चार्जमा ५०० किलोमिटर रेन्ज प्रदान गर्ने दावी छ । यसले १५० किलोवाट आवरको डिसी फास्ट चार्जर सपोर्ट गर्छ ।

