काठमाडौं । एकपछि अर्को स्थापित मोडलहरु इलेक्ट्रीक पावरट्रेनमा विकास गरिरहेको टोयोटाले जापानमा चलिरहेको ‘जापान मोविलीटी शो’मा हायस माइक्रो बसलाई पनि इलेक्ट्रीकमा देखाएको छ ।
टोयोटाले यसअघि ल्याण्ड क्रूजर प्राडो, नयाँ पीयूइ पीकअप ट्रकको इलेक्ट्रीक कन्सेप्ट देखाएको थियो । आफ्नो आगामी लक्ष्य झल्काउने क्रममा टोयोटाले नेपालमा समेत चर्चित कमर्शियल भ्यान हायस पनि ईभीमा ल्याउने पक्का भएको हो ।
टोयोटाले ब्याट्री इलेक्ट्रीक भेहिकलको रुपमा ल्याउने हायसको लम्बाई ५२८० एमएम, चौडाई १९५० एमएम र उचाई १९९० एमएम रहने छ । यसमा ३२१० एमएम लामो ह्वीलवेस रहने छ । निकै लामो साइजको भ्यान भएपनि जम्मा ५.५ मिटरको रेडियसमा यसलाई घुमाउन सकिन्छ ।
इलेक्ट्रीक हायसको ड्यासबोर्डमा ठूलो साइजको टचस्कृन डिस्प्ले छ । उक्त स्कृनमा लोकेसन र ड्राइभ रुटको डिस्प्ले हुनेछ । यसको स्टेरिङ ह्वीलको ठिक्क पछाडि डिजिटल इन्ष्ट्रुमेन्ट क्लस्टर छ । ड्यासबोर्डमा दिइएको गियर सेलेक्टर रोटरी डिजाइनमा रहेको देखिन्छ ।
अटो शोमा देखाइएको भेहिकल कार्गो सेटअपको रहेकोले यसमा सिंगल ड्राइभर सिट मात्रै छ । टोयोटाले यसलाई टुरिस्ट भ्यान वा पब्लिक ट्रान्सपोर्टको रुपमा पनि प्रयोग गर्न सकिने जनाएको छ ।
लेटेस्ट जेनेरेशन एमपीभीमा आधारित हायसमा रहने ब्याट्री, मोटर लगायतका टेक्निकल रिपोर्ट केही बाहिर आएको छैन ।