टोयोटाकाे हाइब्रिड कार नेपाल भित्रिदै

काठमाडौं । टोयोटाको लागि नेपालको आधिकारीक वितरक यूनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नाडा अटो शो २०१९ मा हाइब्रिड कार प्रदर्शनी गर्ने भएको छ ।

कम्पनीले अटो शोलाई लक्षित गर्दै नयाँ हाइब्रिड कार ल्याउन लागेको जानकारी दिएको हो ।

चालु आर्थिक वर्ष २०७६/७७ को बजेटले हाइब्रिड कारमा ५० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्कमा छुट दिएसँगै बजारमा हाइब्रिड कारको चर्चा बढेको हो । 

जापानी कार उत्पादक कम्पनी टोयोटाले प्रियस, कोरोला, र्याभफोर र क्याम्री जस्ता मोडललाई हाइब्रिड इन्जिनमा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्दै आएको छ । 

‘अटो शोमा हामी हाइब्रिड कार प्रदर्शनी गर्ने छौँ । हामीले हाम्रा केही मोडल हाइब्रिड ल्याउने तयारी गरेका हौं । तर, अहिल्यै कुन मोडल आइपुग्छ भन्ने एकिन भएको छैन’ कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर बिवेक बलामीले मेरोअटोसँग भने ।

उनका अनुसार कम्पनीले कुन मोडलको हाइब्रिड प्रदर्शनीमा हुने छ भन्ने विषय भन्सारबाट गाडी छुटेपछि मात्र भन्न सकिने बताए ।

हाम्रो अनुमानमा टोयोटाले यसपटकको अटो शोमा क्याम्री हाइब्रिडलाई प्रर्दशनी गर्ने तयारी गरेको छ । 

टोयोटा क्याम्री लग्जरी सेडान कार हो । यसअघि नेपाली बजारमा केही यूनिट बिक्री वितरण भएको क्याम्री अहिले भने हाइब्रिड इन्जिनमा आउने छ । 

हाइब्रिडको अलावा कम्पनीले रस एसयूभीलाई पनि विशेष प्राथमिकता दिएर प्रदर्शनीमा भाग लिने तयारी गरेको जानकारी दिदै बलामिले भने ‘स्टल निकै सानो छ, त्यसमा के कति मोडल राख्न सकिन्छ भनेर हामी डिजाइन तयार गर्दैछौ ।’

टोयोटाले अहिले ल्यान्ड क्रुजरको बिभिन्न भेरियन्ट, र्याभ फोर, इटिएस फ्याम्ली, रस, हाइलक्स जस्ता मोडलहरु बिक्री वितरण गर्दै आएको छ । 


Back_to_top