नेपाली टेबुल टेनिस खेलाडी र टोयोटा बीच साझेदारी

काठमाडौं । जापानी ब्राण्ड टोयोटाले विश्वका २०० खेलाडीसँग सहकार्य गर्दै आएको छ । इतिहासमै पहिलो पटक नेपाली टेबुल टेनिस खेलाडी नविता श्रेष्ठ र टोयोटा मोटर बीच सहकार्य भएको हो ।

टेबल टेनिस खेलमा ९ पटकको राष्ट्रिय बिजेता नवितासँगको सहकार्य आज टोयोटाको आधिकारीक बितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले घोषणा गरेको हो । उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठको पनि उपस्थिति थियो ।

कार्यक्रममा ‘ग्राउन्ड ब्रेकिङ पार्टनरसिप’ भएको जानकारी दिदै बैद्यज् अर्गनाइजेशनका निर्देशक सूर्यान्स बैंद्यले यो साझेदारीबाट आफुहरु उत्सहित रहेको बताए ।

‘हाम्रो लामो प्रयासपछि पहिलो पटक नेपाली खेलाडीसँग टोयोटा ग्लोबलकै नेतृत्वमा सहकार्य घोषणा भएको छ । यसले समग्र खेल जगतमा नै नयाँ आयाम थपेको छ । ‘स्टार्ट योर इम्पोसिवल’ नविताको लागि सफलताको अर्को खुड्किलो बन्न सकोस्’, निर्देशक बैद्यले भने ।

कार्यक्रममा नेपाल ओलम्पीक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले यो नेपाली खेलाडीको लागि गौरबको दिन भएको बताए । उनले भने, ‘यस्ता किसिमका सहकार्यले खेल, खेलाडी र सम्पूर्ण खेलसँग जोडिएका मानिसलाई उत्साहित बनाउँछ । यो टोयोटा र विश्व ओलम्पीक कमिटिकै निर्णय हो । यसले राम्रो गर्छ ।’

आफुले टोयोटासँगको साझेदारीलाई चुनौतीको रुपमा लिएको बताउँदै नविता श्रेष्ठले भनिन्, ‘यो अवसर र चुनौती दुबै हो । नेपालमा पनि कडा मिहिनेत गरेर आफुलाई अगाडि बढाउनेहरुको सम्मान हुन्छ भन्ने यो साझेदारीले देखाउँछ । यो अवसरको लागि टोयोटा नेपाललाई विशेष आभार ब्यक्त गर्दछु ।’

टोयोटा र नविता बीचको साझेदारी अहिले एक वर्षको लागि भएको जनाकारी कार्यक्रममा दिइएको थियो । एशियाकै पुरानो मध्येको एक डिलरको रुपमा यूटिएसले काम गर्दै आएको छ । विगत ५८ वर्षदेखि टोयोटाका कारहरु नेपाली बजारमा उपलब्ध छन् ।

विगतदेखि नै टोयोटाले खेलकुदको क्षेत्रमा लगानी गर्दै आएको छ ।


Back_to_top