ट्राफिक कारबाही प्रमाणमा आधारित हुनुपर्छ : सांसद तामाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङबाट निर्वाचित सांसद आशिका तामाङले ट्राफिक नियम उल्लङ्घनमा प्रहरीले गर्ने कारबाहीलाई प्रमाणमा आधारित र न्यायिक प्रक्रियासँग जोड्नुपर्ने बताएकी छन्।

आज दिउँसो त्रिपुरेश्वरमा यात्रुवाहक बसमा भएको आगलागी घटना बारे सामाजिक संजालमा आफ्नो धारण राख्दै यस्तो बताएकी हुन् ।

उनले ट्राफिक प्रहरीले नियम उल्लङ्घनको प्रमाण संकलन गर्ने, आरोप दर्ता गर्ने र उल्लङ्घनको सूचना जारी गर्ने भूमिकामा केन्द्रित हुनुपर्ने बताएकी हुन्। प्रहरीले लगाएको आरोपलाई नै अन्तिम फैसला मान्ने व्यवस्था उपयुक्त नभएको उनको भनाइ छ।

‘ट्राफिक नियम उल्लङ्घनमा प्रहरीको भूमिका प्रमाण संकलन गर्ने, आरोप दर्ता गर्ने र उल्लङ्घनको सूचना जारी गर्नेमा केन्द्रित हुनुपर्छ, कसैलाई दुःख दिने वा अनावश्यक हैरानी गर्ने होइन,’ तामाङले भनेकी छन्।

उनका अनुसार चालकले गल्ती स्वीकार गरे जरिवाना तिर्ने र गल्ती स्वीकार नगरे अदालत वा अधिकारप्राप्त न्यायिक निकायमा चुनौती दिन पाउने व्यवस्था हुनुपर्छ। प्रमाणका आधारमा जरिवाना सदर गर्ने, घटाउने वा बदर गर्ने अन्तिम अधिकार अदालत वा सम्बन्धित न्यायिक निकायलाई दिनुपर्ने उनको धारणा छ।

तामाङले ड्युटीमा खटिने प्रत्येक ट्राफिक प्रहरीसँग शरीरमा लगाउने क्यामेरा अनिवार्य गर्नुपर्ने समेत बताएकी छन्। ड्युटी अवधिको कारबाही रेकर्ड हुने व्यवस्था गर्दा प्रहरी र नागरिक दुवै सुरक्षित हुने, विवाद घट्ने तथा कारबाही प्रमाणमा आधारित हुने उनको भनाइ छ।

उनले लाइसेन्स वा ब्लुबुक नियन्त्रणमा लिएर सडकमै फैसला गर्ने पुरानो अभ्यासको सट्टा विद्युतीय जरिवाना, फोटो तथा भिडियो प्रमाण र निष्पक्ष सुनुवाइको व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छन्।


Back_to_top