अब ट्राफिक कारबाहीमा परे ‘अन द स्पट’ जरिवाना तिर्न सकिने

काठमाडौं । अब ट्राफिक नियम उल्लंघन गरी कारवाहीमा परेमा सोही ठाउँबाटै जरिवाना तिर्न पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि चालकहरुलाई ‘अन द स्पट’ जरिवाना तिर्न सक्ने सुविधा सुरु गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता संजिव शर्मा दासका अनुसार पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरि पाँच वटा ट्राफिक कार्यालयबाट सुरु भएको छ । यो सेवालाई क्रमश: अन्य कार्यालयमा समेत विस्तार गर्ने महाशाखाले जनाएको छ ।

चिट नम्बर र रसिद नम्बर मोबाइलमा राखेपछि क्यूआरबाट सजिलै जरिवाना तिर्न मिल्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।साथै कारबाहीमा परेकाले ३० दिन भित्र बैंकमा गएर समेत चिटको रकम भुक्तानी गर्न सक्ने छन् ।

मादक पदार्थ सेवन गरि सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने समेत महाशाखाले जनाएको छ ।

‘हामीले सिमित ठाउमा यो सुविधा राखेका छौं, बैंकमै गएर तिर्छु भन्न पनि पाइयो तर, मलाई हतार छ म तत्काल तिर्छु भन्नेहरुका लागि यो सिस्टम बनाइएको हो,’ दासले मेरोअटोसँग भने ।

अहिले ट्राफिक कारवाहीमा परेरमा सवारीधनीले अनलाइन भुक्तानी वा ग्लोबल आइएमई बैंकको कुनै पनि शाखामा जरिवाना तिर्नुपर्ने व्यवस्था छ । साथै, जरिवाना भुक्तानी गरेकोे प्रमाण लिएर सम्बन्धित ट्राफिक प्रहरी कार्यालय गएर कागजात फिर्ता लिने गरेका छन् ।

यसका लागि ट्राफिक प्रहरी महाशाखाले डकुमेन्ट ट्र्याकिङ प्रणालीमार्फत् एसएमएस पठाएर कारवाहीमा नियन्त्रणमा लिइएको कागजात कुन कार्यालयमा छ भनेर बुझ्न सकिने व्यवस्था गरेको थियो ।


Back_to_top