थपिदै ट्राफिक लाईट, नियम मिच्नेलाई यस्तो हुनेछ जरिवाना

काठमाडौं । उपत्यकामा बन्द अवस्थामा रहेका ट्राफिक लाइटलाई मर्मत गरी पुनःसञ्चालनमा ल्याउने र नयाँ लाईट धमाधम बाल्न सुरु गरिएको छ । सबै ठाउँमा ट्राफिक लाइट सञ्चानमा आए अहिलेको तुलनामा एक तिहाई मात्र जनशक्ति खटाए पुग्ने उपत्यका ट्राफिक प्रहरी प्रमुख भिम ढकालले बताए ।

उनका अनुसार पहिला १२ स्थानमामात्र ट्राफिक लाइट थियो भने अहिले अन्य २ स्थानमा थपगरी कुल १४ स्थानमा ट्राफिक लाइट राखिएको छ ।

वषौँ देखि संचालनमा नआएका त्रिपुरेश्वर, थापाथली, महाराजगंज, कोटेश्वर र मित्रपार्कका ट्राफिक लाइटहरु मर्मत गरी संचालनमा ल्याउने तयारी भइरहेको ढकालले जानकारी दिए ।

सडकमा राखिएको ट्राफिक लाइट पालना नगरेमा एक हजार र लेन क्रस गरेमा १५ सय रुपैँया जरिवाना तिर्नु पर्ने व्यवस्था रहेको छ ।

सडकमा ट्राफिक लाइट राखेपछि भने सवारी साधन तथा सर्वसाधारणलाई बाटो काट्नका लागि धेरै समय कुर्नु परेको छैन । हातको इसाराले सवारी व्यवस्थापन हुँदै आएको थियो । अब सवारीसाधन तथा सर्वसाधारणले ट्राफिक प्रहरीले गर्ने इसारालाई छाडेर ट्राफिक लाइटलाई ध्यान दिए पुग्ने भएको छ ।

ट्राफिक लाइट संचालन भएका स्थानमा सर्वसाधारणहरु पनि बाटो काट्न लाइनमा बस्न थालेका छन् । यसले आवतजावतमा सहजता ल्याएको छ ।

‘ट्राफिक लाइट हेरेर बाटो काट्न नजान्नेलाई सिकाउने छौं सर्वसाधारणले विस्तारै सिक्दै जानेछन्,’ ट्राफिक प्रहरी प्रमुख ढकाले भने ।

कतिपय सर्वसाधारणहरुलाई ट्राफिक लाइट भएको कुरा थाहा छैन । उनिहरुलाई जानकारी गराउन सडकमा ट्राफिक प्रहरी खटिएका छन् ।


Back_to_top