टीभीएस जुपिटरको इलेक्ट्रीक भर्सन आउने, होन्डा एक्टीभासँग कडा प्रतिस्पर्धा

सांकेतिक तस्बीर

काठमाडौं । टीभीएस मोटर्सले इलेक्ट्रीक सेग्मेन्टमा आक्रमक मुभ लिने तयारी गरेको छ । कम्पनीले टीभीएसको सबैभन्दा सफल स्कुटर जुपिटरको इलेक्ट्रीक भर्सन ल्याउने तयारी गरेको हो ।

टीभीएसले होन्डा एक्टीभा इलेक्ट्रीकसँग प्रतिस्पर्धा गर्न जुपिटर इलेक्ट्रीक ल्याउने तयारी गरेको हो । कम्पनीले हालैमात्र टीभीएस जुपिटर इलेक्ट्रीकको पेटेन्ट दर्ता गराएको छ ।

उक्त पेटेन्टका अनुसार कम्पनीले इलेक्ट्रीक पर्फमेन्स स्कुटर ल्याउने तयारी गरेको हो । कम्पनीले नयाँ जुपिटरको लागि मिड माउन्टेड मोटर दिने तयारी गरेको हो ।

टीभीएस आईक्यूवमा ४.४ किलोवाट क्षमताको हब मोटर रहेको छ । टीभीएस आइक्यूब भारतीय बजारमा सबैभन्दा धेरै विक्री हुने स्कुटरको दोस्रो स्थानमा पुगिसकेको छ । कम्पनीले आफ्नो इलेक्ट्रीक पोर्टफोलियोलाई अझै बलियो बनाउन नयाँ इलेक्ट्रीक स्कुटर ल्याउने भएको हो । हाल मासिक १५ हजार यूनिट हाराहारीमा टीभीएस आइक्यूब विक्री भइरहेको छ ।

केही समयअघि टीभीएस मोटर्सका सीईओ केएन राधाकृष्णनले एक पत्रकार सम्मेलनमा ५ किलोवाटदेखि २५ किलोवाट क्षमताका मोटरसाइकल तथा स्कुटर टीभीएस निर्माणको योजना रहेको बताएका थिए । त्यसै कार्यक्रममा आगामी १८ महिनामा नै टीभीएसले नयाँ मोटरका साथ नयाँ इलेक्ट्रीक दुईपाँग्रे सार्वजनिक गर्ने योजना सार्वजनिक गरेका थिए ।

कम्पनीले प्रतिस्पर्धा गर्ने होन्डा एक्टीभा २०२४ जनवरीमा सार्वजनिक गर्ने होन्डा इन्डियाले घोषणा गरिसकेको छ । भारतीय बजारमा होन्डा एक्टीभा र टीभीएस जुपिटर सबैभन्दा धेरै विक्री हुने पेट्रोल स्कुटर रहेका छन् ।

टीभीएस मोटर्सले २०२४ मा जुपिटर इलेक्ट्रीक सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top