होण्डाका दुई नयाँ मोडल नेपाल आउँदै

काठमाडौं । होण्डाले नेपाली बजारमा दुई नयाँ मोडल ल्याउने भएको छ । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले प्रिमियम सेग्मेन्टमा एक/एक मोटरसाइकल र स्कुटर ल्याउने भएको हो ।

कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेजमा टिजर सार्वजनिक गर्दै चाँडै नयाँ मोटरसाइकल र स्कुटर ल्याउने जानकारी दिएको हो ।

सार्वजनिक टिजरमा मोटरसाइकल र स्कुटरको मधुरो किसिमको फ्रन्ट लुक्स बाहेक अन्य कुनै जानकारी सार्वजनिक गरिएको छैन । तर, टिजरमा देखिए अनुसार मोटरसाइलमा होण्डा एसपी १६० सीसी र स्कुटर तर्फ एक्टिभा मोडल हुन सक्ने सम्भावना छ ।

मोटरसाइकलको फ्रन्ट डिजाइन एसपी १६० सँग मिल्दोजुल्दो छ । त्यसैले मोटरसाइकल एसपी १६० मोडल हो । स्कुटरको फ्रन्ट डिजाइन हेर्दा एक्टिभा मोडल जस्तै देखिन्छ । तर, कुन भेरियन्ट हो एकिन साथ भन्न सकिन्न भारतमा एक्टिभा स्कुटरको ११० सीसी र १२५ सीसी मोडल उपलब्ध छ । दुवैको फ्रन्ट डिजाइन लगभग उस्तै छ । नेपाली बजारमा १२५ सीसीका स्कुटरको माग बढ्दो रहेकाले कम्पनीले एक्टिभा १२५ ल्याउन लागेको हुनसक्ने सम्भावना धेरै छ ।

होण्डा एसपी १६० मोटरसाइकल भारतमा डबल डिस्क र सिंगल डिस्क गरी दुई भेरियन्टमा उपलब्ध छ । यसमा १६२.७१ सीसी सिंगल सिलिण्डर, फोर स्ट्रोक, एसआई, पीजीएम एफआई, बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १३ पीएस पावर तथा १४.८ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिन २० प्रतिशत इथानोल ओबीडी टूबी कम्प्लाइन्टमा पाइन्छ ।

मोटरसाइकलमा पूरा एलईडी लाइट सेटअप, होण्डा ब्राण्ड न्यू टीएफटी डिस्प्ले, मोबाइल एपसहितको होण्डा कनेक्ट सिस्टम लगायतका राइडरलाई आवश्यक पर्ने फिचरहरू पाइन्छ । साथै, पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, ट्युबलेस टायर, अलोय ह्वील, टेलिस्कोपिक फर्क र मोनोसक सस्पेन्सन सेटअप रहेको छ ।


Back_to_top