काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा दुई जना यातायात व्यवसायी निर्वाचित भएका छन् । देशका विभिन्न क्षेत्रबाट चार जना यातायात व्यवसायी चुनावी प्रतिस्पर्धामा उत्रिएकामा दुई जना निर्वाचित भएका हुन् ।
यातायात व्यवसायी विष्णुबहादुर खड्का र रमेशकुमार सापकोटा सांसद निर्वाचित भएका हुन् । यातायात क्षेत्रका समस्या, नीतिगत सुधार लगायत एजेण्डा लिएर उठेको उनीहरु जनमतद्धारा अनुमोदित हुँदै कानुन बनाउने थलेमा पुगेका हुन् ।
मध्यपश्चिम यातायात प्रालिका अध्यक्ष विष्णुबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । नेपाली काँग्रेसको तर्फबाट चुनाव लडेका उनले २६ हजार ८९७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाहीले १८ हजार ८९० मत ल्याए । निर्वाचित खड्का नेपाली कांग्रेसको नेता पूर्णबहादुर खड्काका सहोदर भाइ हुन् ।
त्यस्तै, काँक्रे विहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले सुर्खेत क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लडेका उनले ३० हजार ८२६ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसमा नारायण कुमार कोइरालाले १६ हजार ३९२ मत ल्याए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर भने पराजित भएका छन् । नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नम्बर २ मा उठेका स्वार ५ हजार २९६ मतसहितच चौथो भए । सो क्षेत्रबाट रास्वपाका केपी खनाल १६ हजार २४८ मतसहित विजयी भए ।
त्यस्तै, गण्डकी यातायातका संरक्षक भागवत प्रकाश मल्ल नेपाली काँग्रेसबाट स्याङ्जा क्षेत्र नम्बर २ मा चुनावी मैदानमा होमिएका छन् । सो क्षेत्रमा मतगणना जारी छ । अहिलेसम्म उनी प्रतिस्पर्धीभन्दा करिब ३ हजार मतले पछाडि छन् ।

