बीवाइडीले नेपाल ल्याउने अर्को मोडलको रेन्ज ७०० किलोमिटर

काठमाडौं । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नेपाल ल्याउने अर्को मोडल ‘सिलायन सिक्स’ हुन सक्छ ।

कम्पनीले सिलायन सिरिज नेपालमा बिक्री सुरू गरिसकेको र प्योर ईभीमा सिलायन सिक्स चीनमा उपलब्ध भएको कारण नेपाल आउने सम्भावना धेरै देखिन्छ । रोचक कुरा के छ भने सिलायन सिक्स ईभीले सीएलटीसी रेन्ज ७१० किलोमिटर दिने बताइएको छ ।

चीनमा दुई मोटर अप्सनमा उपलब्ध भए पनि नेपाल आउँदा १०० किलोवाट क्षमताको मोटरमै आउने सहजै अनुमान गर्न सकिन्छ । चीनमा भने २४० किलोवाट र २७० किलोवाटको मोटरमा यो एसयूभी उपलब्ध छ ।

‘डिसुस-सी इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम’ भएको एसयूभीले फ्ल्यास चार्जिङ सपोर्ट गर्छ । अहिलेसम्म कम्पनीले यसको चार्जिङ अवधि उल्लेख गरेको छैन ।

बीवाइडीले यसको भेरियन्ट अनुसार ‘गड्स आई सी’देखि ‘आइ अफ गड ५.०’ सिस्टम दिएको छ । यसको प्रयोगसँगै गाडीमा सुरक्षा फिचर बलियो भएको हो ।

बीवाइडीले टेक फिचरको आधारमा निकै बलियो बनाएको सिलायन सिक्स ईभी जिरो ग्राभिटी फ्लोरसँगै १० प्वइन्ट मसाज फङ्गसन सिटमा उपलब्ध हुनेछ । हिटेड र भेन्टिलेटेड सिट उपलब्ध हुने भएको कारण जस्तो सुकै मौसममा पनि यो कारमा यात्रा गर्न उपयुक्त हुन्छ ।

डब्लू-एचयूडी हेडअप डिस्प्ले, ५० वाटको वायरलेस चार्जर, हिटेड र कुल्डबक्स, १२ स्पीकर, एम्बियन्ट लाइट, पानारोमिक सनरुफ तथा इलेक्ट्रीक टेलगेट जस्ता चालक फ्रेन्डली फिचरहरू उपलब्ध छन् ।

ड्यासबोर्डमा १५.६ इन्चको फ्लोटिङ डिस्प्ले, छुट्टै इन्ट्रुमेन्ट क्लस्टर र प्रिमियम फिल दिने सिटहरू यसमा पाउन सकिन्छ ।

सिलायन सिक्सको लम्बाइ ४८१० एमएम, चौडाइ १९२० एमएम र उचाइ १६७५ एमएम छ । यसमा २८२० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । चीनमा यसको मूल्य २३ हजार २०० अमेरिकी डलरदेखि २६१०० डलरसम्म तोकिएको छ ।


Back_to_top