पन्च ईभीलाई टक्कर दिन हुन्डाईले नयाँ मोडल ल्याउने

काठमाडौं । कोरियन ब्राण्ड हुन्डाईले आगामी अक्टोबर महिनासम्ममा नयाँ विद्युतीय एसयूभी ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभीले टाटा पन्च ईभीसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

अहिले भारतीय बजारमा पेट्रोल भर्सनमा बिक्री हुँदै आएको एक्सटर माइक्रो एसयूभीलाई नै हुन्डाईले इलेक्ट्रीक भर्सनमा ल्याउने अनुमान छ । अहिले यसको भारतमा परीक्षण समेत चलिरहेको तस्बिरहरु बाहिर आएका छन् ।

टाटा मोटर्सले पनि आफ्नो सफल इलेक्ट्रीक माइक्रो एसयूभी मोडल पन्चलाई भर्खरै अपग्रेड गरेको छ । सन् २०२६ मोडलको रुपमा सार्वजनिक भएको पन्च ईभीमा ब्याट्री साइज बढाइएको छ । यसअघि २५ र ३५ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध पन्च अब ३० र ४० किलोवाट आवरको ब्याट्रीमा बिक्रीको लागि उपलब्ध हुनेछ ।

हुन्डाईले पनि एक्सटर ईभीमा ३९ र ४८ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिने बताइएको छ । यसको आधिकारीक पुस्टी भने कम्पनीले गरिसकेको छैन ।

आधुनिक फिचरको लामो लिस्ट रहने हुन्डाई एक्सटरको प्रतिस्पर्धा टाटा पन्चसँग बडी साइज, रेन्ज, ब्याट्री, सुरक्षा फिचर, लग्जरीपन र लुक्सका आधारमा पनि हुने पक्का छ । यी दुबै कार भारतमा उत्पादन र बिक्री हुने भएको कारणले पनि एक अर्काका सिधा प्रतिस्पर्धी बन्नेछन् ।

टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा पन्च ईभीको टप भेरियन्ट ३९ लाख ९९ हजारमा बिक्री गर्दै आएको छ । अपग्रेडेड मोडलको मूल्य पनि भारतमा नबढेको कारण नेपालमा पनि बढ्ने सम्भावना छैन ।

हुन्डाईले पनि एक्सटर ईभीलाई पन्च हाराहारीकै मूल्यमा ल्याउने अनुमान गर्न सकिन्छ । त्यसो हुनुमा मुख्य कारण सिधा प्रतिस्पर्धा नै हो । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईका कार आधिकारीक बिक्रेताको रुपमा बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top