कोरोनाकालमा नेपाल आयो २ लाख ५९ हजार मोटरसाइकल, यस्तो छ कम्पनीहरुको आयात (सूचीसहित)

काठमाडौं । कोभिड १९ को संक्रमणका वीच अंग्रेजी आर्थिक वर्ष २०२०/०२१ मा नेपाली बजारमा २ लाख ५८ हजार ८४९ यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएको भन्सार तथ्यांकले देखाएको छ ।

सन् २०२० अप्रिल १ तारिखदेखि २०२१ मार्च ३१ तारिखसम्म आयात भएको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी मोटरसाइकल बजाजले नेपाल ल्याएको देखिन्छ । बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ६९ हजार ४९५ यूनिट मोटरसाइकल आयात गरेको हो । यो समग्र मोटरसाइकल तथा स्कुटर आयातको २६.८५ प्रतिशत हो । बजाजका मोटरसाइकल नेपालमै एसेम्बल हुँदै आएका छन् ।

दोस्रो र तेस्रो स्थानमा रहेको टीभीएस र यामाहा बीच भने निकै ठूलो प्रतिस्पर्धा भएको छ । यी दुई कम्पनीको आयातमा ४३९ यूनिट मात्रै फरक देखिएको छ । यो एक वर्षको अवधिमा टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले ५० हजार ६०० र यामाहाको आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेज्ले ५० हजार १६१ यूनिट आयात गरेको देखिन्छ । आयातलाई आधारमान्दा टीभीएसको बजार हिस्सा १९.५५ प्रतिशत र यामाहाको बजार हिस्सा १९.३८ प्रतिशत देखिन्छ । टीभीएसले पनि नेपालमा एसेम्बल सुरु गरिसकेको छ ।

सूचीको चौथो स्थानमा होन्डा रहेको छ । कोभिडको सबैभन्दा धेरै असर देखिएको होन्डाको आयात निकै खुम्चेको हो । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले एक वर्षमा ३७ हजार ६४७ यूनिट मोटरसाइकल आयात गरेको देखिन्छ । उसको बजार हिस्सा १४.५४ प्रतिशत रहेको छ ।

हिरो अघिल्लो वर्ष जस्तै यो वर्षपनि पाँचौ स्थानमा रहेको छ । तर, कम्पनीले आफ्नो बजार हिस्सा भने बढाएको छ । एक वर्षमा ३० हजार ९०५ यूनिट मोटरसाइकल नेपाल ल्याएको हिरो आधिकारीक विक्रेता एनजीएम हिरोको बजार हिस्सा ११.९४ प्रतिशत रहेको छ । समग्रमा यी ५ कम्पनीले कुल आयातको ९२.२६ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

यी ५ कम्पनी बाहेक रोयल इन्फिल्ड, अप्रिलिया, सुजुकी, भेष्पा, केटीएम, बेनेली, जावा लगायतका ब्राण्डले राम्रै संख्यामा मोटरसाइकल आयात गरेका छन् ।


Back_to_top