काठमाडौं । नेपाल आउन लागेका होङ्छी, जेटोर र क्यूक्यू ब्राण्डलाई निकै महत्वका साथ हेरिएको छ । राम्रा उत्पादन बजारमा ल्याउने तयारीमा रहेका यी ३ ब्राण्ड आगामी अटोको मुख्य आकर्षण बन्न सक्नेछन् ।
विशेषगरी चीनकै सबैभन्दा लक्जरी ब्राण्डको ताज पहिरेर बसेको होङ्छी र अन्तर्राष्ट्रिय बजारमा आफ्नो उत्कृष्ट उत्पादनको कारण चर्चा कमाइरहेको जेटोर ब्राण्डले नेपालमा कस्तो व्यापार गर्ला भन्ने धेरैमा चासो देखिन्छ । क्यूक्यू ब्राण्डको ‘क्यू थ्री’ ह्याचब्याक निकै आकर्षक मूल्यमा आउने अनुमान गर्न सकिन्छ ।
नेपालको कार बजार स्टाइल, मूल्य र फिचरको लागि परिचित छ । यहाँ डिजाइनका हिसाबले उत्कृष्ट, लक्जरी र आकर्षक मूल्य भएका कार धेरै बिक्री हुन्छन् । त्यसमा आधुनिक टेक फिचरको भूमिका पनि बढेको छ ।
आगामी ३० दिन भित्र नेपालमा करिब ६/७ वटा नयाँ ब्राण्ड प्रवेश गर्दैछन् । यस्तोमा सबै ब्राण्डले उत्तिकै चर्चा पाउछन् भन्ने हुँदैन । त्यसैले अन्तर्राष्ट्रिय बजारमा पनि चर्चा कमाएको ब्राण्डका उत्पादन आउने लागेका कारण होङ्छी, जेटोर र क्यूक्यू ब्राण्डको चर्चा धेरै हुने देखिन्छ ।
होङछी ब्राण्ड
चीनमा सर्भिडिज बेन्ज, बीएमडब्लू र अउडीको मुख्य प्रतिस्पर्धी मानिने लक्जरी ब्राण्ड छवि होङछीले बनाएको छ । जुन ब्राण्डको उत्पादन चिनियाँ राष्ट्रपतिले प्रयोग गर्दै आएका छन् ।

होङछीका कार आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी इन्टेरियर र निकै सुरक्षित मानिन्छन् । त्यसैले उपभोक्ताले यसको कारलाई विशेष बनाएका छन् ।
सन् १९५८ मा स्थापना भएको होङछी ब्राण्ड सरकारी स्वामित्वको एफएडब्लू ग्रुपले स्थापना गरेको हो । होङछीको अर्थ ‘रातो झण्डा’ हो । जसले चीनको राष्ट्रिय गौरव र सरकारी प्रतिष्ठालाई प्रतिनिधित्व गर्छ ।
होङछीको आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइल्स कम्पनीले एचएस ४ र एच ९ जस्ता मोडल नेपाल ल्याउन लागेको हो । यसले नेपाली बजारमा बजारमा राम्रो पहिचान बनाउने अनुमान गर्न सकिन्छ ।
जेटोर
चेरी ग्रुप अन्तर्गतको जेटोर अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाइरहेको ब्राण्डमा पर्छ । जेटोर लाइफ स्टाइल र अफरोड भेहिकल उत्पादक कम्पनी हो । यसको अफरोड एसयूभीहरू अष्ट्रेलिया, मध्यपूर्वि एशिया र अफ्रिकामा निकै सफल मानिन्छन् ।

केही अरब देशहरूमा यसलाई किन्नेहरूले महिनौ दिनसम्म कुर्नु पर्ने अवस्था छ । त्यसैले नेपाल जस्तो हिमाली र पहाडी सडकहरूमा पुग्नु पर्नेहरूको लागि जेटोर ब्राण्ड नयाँ आकर्षण बन्न सक्छ ।
लक्ष्मी ग्रुप अन्तर्गत आउन लागेको जेटोर ब्राण्डको टी-२ मोडल सुरूमा नेपाल आउने छ । यो एक प्लगइन हाइब्रिड मोडल हो । यसले फोर ह्वील ड्राइभ एसयूभी खोज्नेको लागि एक उत्तम विकल्प प्रस्तुत गर्ने सहजै अनुमान लगाउन सकिन्छ ।
जेटोर ब्राण्ड सन् २०१८ मा स्थापना भएको कम्पनी हो । ठूलो साइजका एसयूभी राम्रो मूल्यमा बिक्री गर्ने ब्राण्डमा जेटोर चिनिएको छ । यो ब्राण्ड चीनमा भन्दा अन्तर्राष्ट्रिय बजारमा धेरै चर्चा हुनेमा पर्छ । यस्तोमा नेपालमा यसको उपस्थिति निकै अर्थ पूर्ण मान्न सकिन्छ ।
चेरी क्यूक्यू
चेरीको अर्को ब्राण्ड क्यूक्यू पनि नेपाल आउने भएको छ । यसअघि चेरीको ह्याचब्याक कार क्यूक्यूको नाममै न्यू इनर्जी ब्राण्डको रूपमा कम्पनीले यसलाई स्थापना गरेको हो ।
एउटा मात्रै मोडल उपलब्ध भए पनि क्यू-३ मोडल निकै क्लिन डिजाइनको कारण नेपाल नआउँदै चर्चामा रहेको मोडल हो । क्यू थ्री आकर्षकसँगै फिचर लोडेड र मूल्य पनि राम्रो अफर गर्ने अनुमान गरिएको छ ।
बजारमा साना कारको आवश्यकता पूरा गर्नेगरी आउन लागेको क्यू ३ को व्यापारले नै यसको भविष्य निर्धारण गर्नेछ । तर, क्यूक्यू ब्राण्ड नेपालको लागि निकै अर्थपूर्ण मान्न सकिन्छ । यो ब्राण्डको स्थापना सहरी युवा प्रयोगकर्ताको आवश्यकता सम्बोधन गर्ने किसिमको छ ।


