नेपाल आउँदै ३ नयाँ मोटरसाइकल, सबैमा एफआई इन्जिन

काठमाडौं । भारतीय बजारमा उत्पादन हुने तीन नयाँ मोडलका मोटरसाइकल नेपाल आउँदा सुरु मै भारतीय प्रदुषण मापदण्ड (बीएस–६) इन्जिनमा आउने भएका छन् ।

लामो समयदेखिको लकडाउनका कारण अहिल्यै कुन मितिमा यी मोटरसाइकल आउने छन् भन्ने विषयमा एकिन नभएपनि लकडाउन सकिएपछि यी मोटरसाइकल नेपाल ल्याउने प्रकृया सुरु हुने सम्बन्धीत कम्पनीले जनाएका छन् ।

नेपालमा बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ भने हिरोको आधिकारीक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालि रहेको छ । त्यसैगरि यामाहाका मोटरसाइकल एमएडब्ल्यू इन्टरप्राइजेजले बिक्री वितरण गर्दै आएको छ ।
यदि कोभिड १९ को संक्रमण र लकडाउनको अवस्था नरहेको भए यी मोटरसाइकल नाडा अटो शो २०२० मा बिक्री सुरु हुने थियो । अब यी मोटरसाइकल लकडाउन खुलेपछि आयात प्रकृया सुरु हुने जनाइएको छ ।

यी तीन वटै मोटरसाइकल नयाँ मोडल हुन् भने उच्च पर्फमेन्स क्षमता भएका मोडल हुन् । पावरफुल मोटरसाइकल चाहने ग्राहकको लागि यी मोटरसाइकल उत्कृष्ट हुन सक्ने छन् ।

बजाज डोमिनार २५०ः भारतमा बिक्री सुरु भइसकेको डोमिनार २५० नेपाल ल्याउने तयारी सुरु भइसकेको थियो । तर, कोरोना भाइरसको कारण तत्काल नेपाल आउन नसकेको यो मोटरसाइकलले २५० सीसी सेग्मेन्टमा उत्कृष्ट व्यापार गर्ने अनुमान गरिएको छ ।

यसमा दिइएका अधिकांश फिचर डोमिनार ४०० बाट लिइएकोले पनि यसले राम्रो व्यापार गर्ने अनुमान गर्न सकिन्छ ।

बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर यसको सबल पक्ष हो ।

त्यसैगरि अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर यसमा पाउन सकिने छ । स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेका छन् ।

ड्यूक २५० बाट लिइएको २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन यसमा रहेको छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा ३० पीएस पावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहने छ ।

डोमिनार २५० को मूल्य नेपालमा ४ लाख ४० हजार रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।

हिरो एक्स्ट्रीम १६० आरः हिरो मोटो कर्पले ल्याएको एक्स्ट्रीम १६० आर अहिले चर्चाको शिखरमा रहेको छ । हिरोले ल्याएको नयाँ एक्स्ट्रीम १६० आर यो सेग्मेन्टकै सर्वा्धिधक छिटो कुद्ने मोटरसाइकल भएको छ । यसले ० देखि ६० किलोमिटरको स्पीड भेट्टाउन केवल ४.७ सेकेन्ड मात्र समय लगाउने छ ।

कम्पनीले यसमा दिएको १६० सीसी एफआई इन्जिनले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको जनाएको छ ।

हिरो एक्स्ट्रीम आरमा नयाँ डायमण्ड टाइप सिंगल डाउन ट्युव फ्रेम दिइएको छ । यसमा अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । साथै, दुबै चक्कामा पेटल टाइप डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

हिरोले आफ्नो एक्स्ट्रीम २०० आरको तुलनामा एक्स्ट्रीम १६० आर नयाँ मोडलमा अब्बल फिचरहरु उपलब्ध गराएको छ । कम्पनीले यसमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने यसमा पूर्णत डिजिटल डिस्प्लेको प्रयोग गरेको छ ।

कम्पनीले एक्स्ट्रीम २०० मा टेललाईट मात्र एलइडी प्रयोग गरेको थियो भने सेमिडिजिटल इन्ट्रुमेन्ट कन्सोलको प्रयोग गरेको छ । यो मोटरसाइकल नेपाल आउँदा यसको मूल्य ३ लाख ३० हजार रुपैयाँ हाराहारीमा पर्ने देखिन्छ ।

यामाहा एफजेडएस २५०ः यामाहाले एफजेडएस सिरिजमा नयाँ मोडल थप गरेको छ । भारतीय बजारमा बिक्री सुरु हुन लागेको यो मोटरसाइकल पनि चाँडै नेपाल आउन सक्ने मोडल हो ।

यसअघि २५० सीसी सेग्मेन्टमा एफजेड २५ र फेजर २५ मोडल बिक्री वितरण गर्दै आएको यामाहाले फेजर २५ को उत्पादन बन्द गर्दै एफजेडएस २५ बजारमा ल्याउने भएको हो ।

निकै स्पोर्टी डिजाइनमा आउन लागेको एफजेडएसमा एलइडी डिआरएल, विंड स्कृन, मस्कुलर फ्यूल ट्याङक, स्प्लिट सिट, प्रोजेक्टर हेडल्याम्प जस्ता फिचर उपलब्ध रहेको छ ।

यस स्टाइलिस मोटरसाइकलमा २४९ सीसी सिंगल सिलिण्डर एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकम २०.५ बीएच पावर र २० एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले यसमा ५ स्पीड गियरबक्स दिएको छ । साथै सुरक्षाको लागि दुबै चक्कामा डिस्क ब्रेकको साथ डबल च्यानल एबीएस दिएको छ ।

यसको मूल्य नेपाली बजारमा ४ लाख ४० हजार रुपैयाँ हाराहारीमा आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top