काठमाडौं । नेपाली बजारमा दुई दमदार इलेक्ट्रीक एसयूभी प्रबेश गर्ने तयारीमा छन् । जसमा चेरीको ओमोडा ५ र दिपल एस७ रहेका छन् ।
चेरी ओमोडाको आगामी साता चीनमा राइट ह्याण्ड ड्राइभ भर्सनको परिक्षण हुँदैछ । उक्त परिक्षण लगत्तै नेपाल ल्याउने प्रक्रिया सुरु हुँदैछ । यसलाई आगामी जनवरीसम्ममा बिक्री सुरु गर्ने तयारी भइरहेको आधिकारीक बिक्रेता कम्पनी एसपीजी अटोमोवाइलले जनाएको छ ।
त्यसैगरी चांगनको सहायक ब्राण्ड दिपलका उत्पादन चाँडै नेपालमा बिक्री सुरु गर्ने योजनामा आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले बनाएको छ । कम्पनीले आगामी ५ महिना भित्र चांगन र दिपलका ३ नयाँ विद्युतीय मोडल नेपालमा बिक्री गर्ने तयारी गरिरहेको छ । यस्तोमा दिपल एस७ निकै प्रतिक्षित मोडल पनि बिक्री सुरु हुँदैछ ।
यी दुबै ब्राण्डले नेपाल ल्याउन लागेको नयाँ बिद्युतीय कारको प्रतिस्पर्धा अहिले बजारमा चल्तीमा रहेका बीवाइडी र एमजीका उत्पादनसँग हुनेछ ।
ओमोडा ५
चिनियाँ ब्राण्ड चेरीको पहिलो इलेक्ट्रीक क्रसओभर ओमोडा भविष्य केन्द्रित डिजाइनमा तयार भएको क्रसओभर एसयूभी हो । यसको नामाकरण पनि कम्पनी ओ बाट अक्सीजन र मोडाको अर्थ मोर्डन मिलाएर ओमोडा राखिएको कम्पनीको भनाइ छ । नाम अनुसार कै युवा पुस्ता लक्षित डिजाइनमा यो आउने पक्का पक्की देखिन्छ ।

चेरीले पहिलो पटक संघाई अटो शोमा देखाएको ओमोडा क्रसओभर मोडलमा ६४ किलोवाट आवरको ब्याट्री रहने छ । उक्त ब्याट्रीले सिङ्गल चार्जमा ४५० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको दावी छ ।
ओमोडा क्रसओभर नेपाली बजारमा ९९ किलोवाट आवरको मोटरमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ । डिसी फास्ट चार्जर सपोर्ट गर्ने ओमोडा ईभीलाई ४० मिनेटमा नै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, ७.२ किलोवाटको एसी चार्जरले पाँच घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दावी छ । यसको मूल्य ६०/६२ लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।
दिपल एस७
चांगनको सहायक ब्राण्ड दिपलको नयाँ एसयूभी एस७ निकै उत्कृष्ट रेन्ज, आधुनिक टेक्नोलोजीले भरिपूर्ण र प्रतिस्पर्धी मूल्यमा नेपाल आउने आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले जनाएको छ ।
कम्पनीले यसको आधिकारीक मूल्यको विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर, यसको टप भेरियन्ट नै ८० लाख हाराहारीमा आउने अनुमान गर्न सकिन्छ । चिनियाँ बजारमा यसको सुरुवाती मूल्य २६ हजार ४०० डलर छ भने टप भेरियन्टको मूल्य २८ हजार २०० डलर मात्रै छ । यसमा ठूलो मोटर रहेको कारण नेपालमा राजश्व धेरै तिर्नु पर्ने हुन्छ ।

साइजको हिसावले निकै ठूलो रहेको दिपल एस७ कम्पनीले हुवावेसँग मिलेर बनाएको कारण टेक्नोलोजीको भरपूर प्रयोग भएको बताइन्छ ।कम्पनीले यसमा फ्रेमलेस डोर, हिडन डोर ह्याण्डल, २१ इन्चको ह्वील दिएको छ । रियर ह्वील ड्राइभ सिस्टमको साथ आउने क्ठ चिनियाँ बजारमा दुई मोटर अप्सनमा उपलब्ध रहेको छ । यसमा १६० किलोवाट र १९० किलोवाट क्षमताका दुई मोटर छन् ।
मोटर मात्र होइन दिपल एस७ मा दुई ब्याट्री अप्सन पनि दिइएको छ । कम्पनीले ६६.८ किलोवाट आवर र ७९.९७ किलोवाट आवरको दुई ब्याट्री छनोटमा दिएको हो । सानो ब्याट्रीले ५२० र ठूलो ब्याट्रीले ६२० किलोमिटर रेन्ज दिने चिनियाँ टेष्टीङ एजेन्सी सीएलटीसीले प्रमाणित गरेको छ ।
१८० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्ने एस७ को इनर्जी खपत पनि निकै उत्कृष्ट मानिन्छ । यसले १०० किलोमिटर यात्रा गर्न केवल १४.२ किलोवाट ब्याट्री खपत गर्ने कम्पनीको दावी छ ।

