४० किलोवाट आवरको ब्याट्री प्याकसँगै नेक्सन ईभीको अपडेट मोडल आउँदै

काठमाडौं । टाटा मोटर्सको कम्प्याक्ट एसयूभी टाटा नेक्सन ईभीको अपडेट मोडल आउने भएको छ । अब आउने नयाँ नेक्सन ईभीमा ४० किलोवाट आवर साइजको नयाँ ब्याट्री प्याक पनि हुने कम्पनीले जनाएको हो ।

ठूलो साइजको ब्याट्री प्याक दिएको नयाँ नेक्सन ईभीको रेन्ज पनि बड्ने पक्का छ । तर कम्पनीले आधिकारीक रूपमा नयाँ रेन्जको बारेमा बताएको छैन ।

कम्पनीले अहिले भइरहेको ३२.२ किलोवाट आवरको ब्याट्री अप्सनलाई पनि निरन्तरता दिने जनाएको छ । नयाँ आउने नेक्सन ईभीको पावरट्रेन पनि अपडेट हुनेछ । नयाँ ईभीले १३७ पीएस पावर प्रदान गर्दछ । चलिरहेको नेक्सन ईभी मोडलले १२९ पीएस मात्र पावर प्रदान गर्दथ्यो ।

नयाँ नेक्सन ईभीमा ब्याट्री प्याकको साथ अन्य फिचर पनि अपडेट हुनेछ । भारतीय सडकमा परीक्षण भइरहेको नयाँ नेक्सन ईभीको स्पाइ तस्वीरहरू सार्वजनिक भएका छन् । उक्त तस्वीरमा देखिए अनुसार अब नेक्सन ईभीमा पछाडिको चक्कामा पनि डिसबे्रक हुनेछ । अर्थात् अब चारैवटा चक्कामा डिस ब्रेक हुनेछ ।

यसका साथै नयाँ ईभीको इन्टेरियरमा समेत केही परिवर्तन हुने सम्भावना देखिएको छ । अब आउने नेक्सनको इन्फोटेन्मेन्ट सिस्टममा ठूलो परिवर्तन हुने सम्भावना रहेको छ । नयाँ नेक्सन ईभी यसै वर्षको अन्त्यसम्ममा लन्च हुने अनुमान गरिएको छ ।


Back_to_top