विभिन्न क्षमताका नयाँ स्पोर्ट एड्भेन्चर मोटरसाइकल ल्याउँदै बजाज

काठमाडौं । बजाजले डुअल स्पोर्ट एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा विभिन्न इन्जिन क्षमताका मोडल ल्याउने तयारी गरेको छ ।

बजाज ब्राजिलका कार्यकारी निर्देशक वाल्डिर फरेराले हालैको अन्तर्वार्तामा फरक आवश्यकता भएका ग्राहकलाई लक्षित गर्दै ट्रेल मोटरसाइकलका विभिन्न विकल्प विकास भइरहेको बताएका हुन् ।

कम्पनीले इन्जिन क्षमता र प्राविधिक विवरण खुलाएको छैन । तर, १५० सीसीदेखि २५० सीसी वा त्योभन्दा माथिका इन्जिन भएका मोडल आउन सक्ने अनुमान गरिएको छ । यसअघि परीक्षणमा देखिएको मोटरसाइकलमा पल्सर एन २५० बाट प्रेरित इन्जिन प्रयोग हुन सक्ने चर्चा भए पनि यसको पुष्टि भएको छैन ।

फरेराका अनुसार बजाजका एड्भेन्चर मोटरसाइकलका प्रोटोटाइप ब्राजिल पुगिसकेका छन् । उनले यसअघि सन् २०२६ को अन्त्यअघि नयाँ मोटरसाइकल सार्वजनिक हुन सक्ने संकेत दिएका थिए । यद्यपि, विभिन्न मोडल एकैपटक सार्वजनिक हुने वा चरणबद्ध रूपमा आउने भन्ने स्पष्ट छैन ।

यसअघि सार्वजनिक स्पाई तस्बिरमा मोटरसाइकलमा अगाडिको बीक डिजाइन, वायर स्पोक ह्वील, फोर्क गेटर, माथिल्लो भागमा राखिएको एक्जस्ट र लामो सिट देखिएका थिए । त्यस्तै, अगाडि टेलिस्कोपिक फोर्क, पछाडि मोनोशक सस्पेन्सन र दुवै पाँग्रामा डिस्क ब्रेक रहेको देखिएको थियो ।

बजाजले ‘ट्रेकर’ नामको ट्रेडमार्कसमेत दर्ता गराएको छ । त्यसैले यो नाम नयाँ एड्भेन्चर मोटरसाइकलमा प्रयोग हुन सक्ने अनुमान गरिएको छ । तर, कम्पनीले नाम र अन्य विवरण आधिकारिक रूपमा सार्वजनिक गरेको छैन ।


Back_to_top