भक्तपुरमा गुड्ने ६७ प्रतिशत गाडी प्रदूषण जाँचमा फेल

काठमाडौं । भक्तपुरमा गुड्ने ६७ प्रतिशत सवारीसाधन प्रदूषण जाँचमा फेल भएका छन् ।

वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले बुधबार भक्तपुरको चुनदेवी गरेको चेकजाँचमा यस्तो पाइएको हो ।

ट्राफिक प्रहरीका अनुसार ६१ वटा सवारी साधनलाई चेक गर्दा ४१ वटाले मापदण्डभन्दा बढी धुवाँ फाल्ने गरेको पाइएको हो ।

चेकजाँचमा फेल भएका सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिएको छ । ऐनको दफा १६४ (१) (च) मा अवस्था ठीक नभएका सवारी साधन चलाउन नहुने व्यवस्था छ । त्यस्ता सवारी चलाएको पाइएमा ट्राफिक प्रहरीले तत्कालै पहिलोपटक ५०० रुपैयाँ, दोस्रो पटक १ हजार र तेस्रो पटक वा सोभन्दा बढीमा १ हजार ५०० रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ ।

यसअघि काठमडौंका विभिन्न स्थानमा गरिएको चेकजाँचमा पनि आधा बढी सवारीले मापदण्डभन्दा धेरै धुँवा फाल्ने गरेको पाइएको थियो ।

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या निम्तिन्छ । यसले दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेक जाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन ट्राफिकले चालकलाई अनुरोध समेत गरेको छ ।


Back_to_top