टाटा ह्यारीयर र सफारीको पेट्रोल भर्सन बिक्री सुरू, यस्तो छ मूल्य

काठमाडौं । टाटा मोटर्सले भारतीय बजारमा आफ्ना फ्ल्यागशिप एसयूभीहरू टाटा ह्यारियर र सफारीको पेट्रोल भर्सन बिक्री सुरू गरेको छ ।

टाटाले यसअघि डिजेल इन्जिनमा बिक्री गर्दै आएका दुवै एसयूभी नयाँ पेट्रोल इन्जिनमा बजारमा ल्याएको हो ।

कम्पनीले ह्यारीयर एसयूभी विभिन्न ८ भेरियन्टमा बजारमा ल्याएको छ । ह्यारीयरको मूल्य भेरियन्ट अनुसार न्यूनतम १२ लाख ८९ हजारदेखि २४ लाख ६९ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेको छ ।

त्यस्तै, सफारी १० भेरियन्टमा उपलब्ध छ । सफारीको बेस भेरियन्टको मूल्य १३ लाख २९ हजार र टप भेरियन्टको २५ लाख २० हजार भारु (एक्स शोरुम) तोकेको छ ।

टाटाले दुवै एसयूभी १.५ लिटर फोर सिलिण्डर टर्बो पेट्रोल हाइपरियोन इन्जिन दिएको छ । यसले १७० हर्सपावर तथा २८० न्युटन मिटर टर्क उत्पादन गर्छ । यो इन्जिनसँग ६ स्पीडको म्यानुअल र ६ स्पीडको अटोमेटिक गियर अप्सन रहको छ ।

यसअघिको २.० लिटरको डिजेल इन्जिनको पावर १७० पीएस नै रहेको थियो भने टर्क भने ३५० न्युटन मिटर रहेको थियो ।

टाटाले पेट्रोल इन्जिनसँगै ह्यारियर र सफारीमा नयाँ अकम्प्लीस्ड अल्ट्रा भेरियन्ट समेत बजारमा ल्याएकाे छ । नयाँ भेरियन्टमा १४.५ इन्चको सिनेम्याटिक इन्फोटेन्मेन्ट स्क्रीन, हर्मनको डल्बी एट्मस साउण्ड सिस्टम, ६५ वाटको टाइप सी यूएसबी फास्ट चार्जर, डिजीटल आईआरभीएम, बिल्टइन ड्यासक्याम लगायत प्रिमियम फिचर दिएको छ ।

टाटाको पेट्रोल एसयूभीमा नयाँ कलरको इन्टेरियर थिम, १९ इन्चको अलोयह्वील र २२ सुरक्षा फिचर सहितको लेभल २ प्लस एडास फिचर समेत रहेको छ ।

टाटाले ह्यारीयर सन् २०१९ र सफारी २०२१ मा डिजेल इन्जिनमा ल्याएको थियो ।

हाल नेपाली बजारमा टाटाका ईभीसँगै डिजेल सफारी बिक्री भइरहेको छ । भारतमा बिक्री सुरू भएसँगै ह्यारीयर र सफारी पेट्रोल भर्सन पनि नेपाल आउन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।


Back_to_top