काठमाडौं । नेपाली बजारमा एकैसाथ भेस्पाका ३ नयाँ स्कुटर सार्वजनिक भएको छ ।
नेपालका लागि भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्पले बीएस ६ ओबीडी–टूबी मापदण्डका ३ नयाँ स्कुटर बिक्री सुरू गरेको हो ।
कम्पनीले नयाँ बीएस ६ ओबीडी–टुबी इन्जिन सहितको नयाँ भेस्पा सिरिजमा जेडएक्स, भेस्पा र भेस्पा एस नयाँ स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीले भेस्पा जेडएक्स १२५ स्कुटरको मूल्य ३ लाख ४९ हजार रुपैयाँ, भेस्पा १२५ को ३ लाख ९९ हजार रुपैयाँ र भेस्पा एस १२५ को ४ लाख ९ हजार रुपैयाँ तोकेको छ ।
भेस्पा जेडएक्स मोडलमा क्लासिक, आधुनिक आकर्षणलाई संयोजन गर्ने डिजाइन छ । यो पर्ल ह्वाइट, रेड ड्रागन, नेरोब्लयाक र अज्जुरो प्रोवेन्जा जस्ता कलरमा उपलब्ध भएको छ।
भेस्पा मोडलले इटालियन स्टाइलिङ र उच्चस्तरीय आरामलाई जोड दिएको छ । यो ग्लोसी ग्रीन, अज्जुरो प्रोवेन्जा, रोस्सो रेड, नेरो ब्ल्याक र पर्ल ह्वाइ कलरमा छ ।
त्यस्तै, एस मोडल भने स्पोर्टी स्टाइलिश लुक्समा आएको छ । यो पर्ल ह्वाइट, नेरो ब्ल्याक, ओलिभ ग्रीन, जियालो येलो र ग्लोसी ओरेन्ज रंगमा पाइने छ।
नयाँ लाइनअप वातावरणमैत्री प्रविधि, उत्कृष्ट माइलेज, र उत्कृष्ट परफर्मेन्सका साथै प्रिमियम डिजाइन र आकर्षक रंगमा उपलब्ध हुने कम्पनीले घोषणा गरेको छ।
डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले नयाँ मोडल सार्वजनिकसँगै नेपालमा भेस्पालाई एक लाइफस्टाइल ब्राण्डका रूपमा अझ बलियो बनाएको बताए ।
‘भेस्पा केवल स्कुटर मात्र होइन, यो एक देशको ऐतिहासिक, सांस्कृतिक पहिचान र सदाबहार आकर्षणको प्रतीक हो। नयाँ मोडलहरूको यो सिरिजमार्फत् हामी भेस्पाको शैली, नवप्रवर्तन र गुणस्तरप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दैछौं। साथै, नेपालमा भेस्पालाई एक लाइफस्टाइल ब्राण्डका रूपमा अझ मजबुत रूपमा स्थापित गर्ने हाम्रो उद्देश्यलाई अघि बढाएका छौं,’ उनले भने ।

