एयर मिनी र टियागो ईभीमा कति फरक ? मूल्य भने उस्तै रहने

काठमाडौं । विद्युतीय कारको प्रयोग बढ्न थालेसँगै विभिन्न कम्पनीले नयाँ नयाँ मोडल बजारमा ल्याइरहेका छन् । बज्र समूहले चिनियाँ ब्राण्ड विलिङले इन्डोनेशियामा उत्पादन गरेको एयर मिनी ईभी नेपालमा विक्री सुरु गर्ने भएको छ । कम्पनीले अहिले २५ र ३० लाख मूल्य तोकेर यसको बुकिङ सुरु गरेको छ ।

सरकारले पनि विद्युतीय गाडीको प्रयोगलाई बढवा दिन चार्जिङ स्टेशन निर्माण गर्नेदेखि करका दरमा सहुलियत दिइरहेको समयमा नेपाल आएको विलिङ एयर मिनीले कस्तो ब्यापार गर्छ त्यो हेर्न भने केही समय कुर्नु पर्ने हुन्छ ।

साइजमा सानो भएकै कारण यसलाई सहर बाहिर लिएर जान मानिसहरु डराउने देखिन्छ । यसको डिजाइन पनि ब्यस्थ सडकको लागि उपयुक्त हुनेगरी गरिएको छ । त्यसैले यसलाई सहरी क्षेत्रमा काम गर्ने प्रोफेसनल मानिसहरुले किन्ने योजना बनाउन सक्छन् ।

टेक्नीकल डिटेललाई केलाएर हेर्ने हो भने विलिङ मिनीलाई टक्कर दिन टाटाले ल्याउन लागेको गियागो ईभी काफी हुने देखिन्छ । टाटा टियागो ईभी साइजमा ठूलो, ५ जनाले यात्रा गर्न मिल्ने, सहरभन्दा बाहिर पनि चलाउन मिल्ने बडी डिजाइनको कारण चर्चामा छ । इन्धनबाट चल्ने टियागोको अधिकांश फिचर यसमा पाउन सकिन्छ । यसको अलावा कम्पनीले टियागो ईभीमा थुप्रै आधुनिक फिचर प्रदान गरेको छ ।

विशेषत मूल्य, ब्याट्री, पावर र रेन्जमा यी दुई मोडल बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यी दुई कारमा टाटाको नेटवर्क, पूर्वाधार र ब्राण्डको कारण टियागो ईभी चाँडै बजारमा सफल हुने अनुमान लगाउन सकिन्छ ।

विलिङ मिनी तिहार लगत्तै डेलिभरी दिनेगरी कम्पनीले बुकिङ लिन सुरु गरेको छ । टाटा टियागो ईभीभने भारतमा केही दिनअघि मात्रै सार्वजनिक भएको मोडल हो । सन् २०२३ को पहिलो क्वाटरबाट यसको विक्री नेपालमा सुरु हुने अनुमान गरिएको छ ।


Back_to_top