काठमाडौं । चिनियाँ बजारमा बिक्री सुरु भएको ४८ घन्टा भित्रै ५५ हजार ८४० युनिट बुकिङ पाएर ‘विलिङ विङ्गो एस’ले चर्चा कमाइरहेको छ । उक्त बुकिङ मध्ये ७ हजार २५० युनिट डेलिभरी पनि भएको हो ।
कम्पनीले दुई भेरियन्टमा ल्याएको विङ्गो एसको मूल्य ९ हजार ४०० र १० हजार ९०० अमेरिकी डलर तोकेर बिक्री थालेको हो । जुन सबैभन्दा कम मूल्यको एसयूभी बन्न सफल भएको छ ।
चिनियाँ कम्पनीहरु एसएआइसी र विलिङसँगै अमेरिकी कम्पनी जनरल मोटरको संयुक्त लगानीमा स्थापना भएको विलिङ ब्राण्डको पहिलो एसयूभीले ठूलो संख्यामा बुकिङ पाएको हो ।
विङ्गो एसको लम्बाइ ४२६५ एमएम, चौडाइ १७८५ एमएम र उचाइ १६०० एमएम छ । यसमा २६१० एमएम लामो ह्वीलवेस दिइएको छ । ५ सिट क्षमताको विङ्गो एसमा निकै फराकिलो क्याविन पाउन सकिन्छ ।
यसमा १००८ एमएम अग्लो हेडरुम छ । पछाडिको सिटबाट भने ८८२ एमएम अग्लो हेडरुम छ । क्याविन पनि दुई कलरमा उपलब्ध हुनेछ । यसमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र ८.८ इन्चको इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ ।
ब्लूटुथ कनेक्टीभीटी, पुस बटम स्टार्ट, अटोमेटीक हेडलाइट, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा, एडास फिचरसँगै अगाडि हिटेड सिट उपलब्ध छ । कारमा ५० वाट क्षमताको वायरलेस चार्जर दिइएको छ ।
विङ्गो एसमा रेट्रो डिजाइन हेडल्याम्प प्रयोग गरिएको छ । क्लोजअफ ग्रिल, बोनेटको बीचमा विलिङको लोगो लगाइएको छ । सार्प बडी डिजाइनमा उपलब्ध विङ्गो एसमा यूनिक डिजाइनको ह्वील पाउन सकिन्छ । कन्भेन्सनल डोर ह्याण्डल, स्लीक र स्मार्ट बडी क्लाडिङको प्रयोग भएको विङ्गो एस ड्यूल टोन कलरमा पाउन सकिन्छ ।
सिंगल मोटरमा उपलब्ध एसयूभीमा ७५ किलोवाटको मोटर दिइएको छ । ब्याट्री भने दुई फरक साइज ३१.९ र ४१.९ किलोवाट आवरको लिथियम आइरन फस्फेट प्रयोग भएको छ ।
कम्पनीका अनुसार यसमा रहेको ब्याट्रीलाई ३० देखि ८० प्रतिशत चार्ज गर्न ३५ मिनेट लाग्ने छ । यसमा कम्पनीले आफैँले उत्पादन गरेको सिनलेना ब्याट्री प्रयोग गरेको छ ।

