काठमाडौं । नेपाली बजारमा बजाज सर्वाधिक बाइक बिक्री गर्ने कम्पनीको रुपमा रहेको छ भने बाइक र स्कुटर जोड्ने हो भने होन्डा सर्वाधिक दुई पाङ्ग्रे सवारीसाधन बेच्ने कम्पनीमा पर्छ । यी दुबै कम्पनीको पछाडि तेस्रो सार्वाधिक बाइक बेच्ने कम्पनीमा यामाहा रहेको छ ।
पछिल्लो समय यामाहाले आफ्नो नयाँ–नयाँ मोडलका बाइक सार्वजनिक गर्दै आएको छ । होन्डाले पनि भारतीय बजारलाई केन्द्रमा राखेर नयाँ नयाँ मोडल सार्वजनिक गरिरहेको छ ।
यामाहाले आफ्नो पछिल्लो उत्पादन एमटी–१५ भारतीय बजारमा सार्वजनिक गरिसकेको छ भने, होन्डाले आफ्नो पछिल्लो उत्पादन सीबी–१५० आरलाई थाइल्यान्डको बजारमा सार्वजनिक गरेको छ ।
होन्डाले छिट्टै भारतीय बजारमा पनि यसलाई सार्वजनिक गर्ने मिति बारे छलफल भइरहेको जनाएको छ । होन्डाको नयाँ सीबी सिरिजको इन्ट्री लेवलको यो बाइक निकट भबिस्यमा नै नेपाली बजारमा आउने सम्भावना रहेको छ ।
यामाहाले एमटी–१५ लाई दुई महिनापछि नेपाली बजारमा सार्वजनिक गर्ने आधिकारीक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले जनाएको छ । यस्तोमा यी बाइकको संभावित फिचर र मूल्यका बिषयमा हामीले यो रिपोर्ट तयार गरेका छौं ।

यामाहाले आफ्नो पछिल्लो नयाँ मोडल एमटी–१५ मा १५५ सीसी लिक्वीडकुल्ड, ४ स्टोक, डिओएचसी ४ भल्व इन्जिन दिएको छ भने, होन्डाले सीबी–१५० आरमा १४९ सीसी सिंगल सिलिन्डर, लिक्वीडकुल्ड र फ्यूल इन्जेक्टेड इन्जिन दिएको छ ।
रिपोर्टकाअनुसार होन्डाको यो नयाँ बाइकले १८ बीएचपी पावर जेनेरेट गर्छ भने यामाहाको नयाँ बाइकले १९ बीएचपी पावर प्रदान गर्छ । यी दुबै बाइकमा ६ स्पीड गियरबक्स दिइएको छ ।
यदि होन्डाको यो बाइक नेपाली बजारमा आउने हो भने यसको मूल्य करिब ५ लाख रुपैयाँको हाराहारीमा रहने छ भने यामाहाको एमटी–१५को नेपाली बजारमा मूल्य ४ लाख ५० हजार रुपैयाँ हाराहारीमा रहने अनुमान गरिएको छ ।
होन्डाले आफ्नो सीबी–१५० आरको अगाडिको चक्कामा २९६ एमएमको डिस्क ब्रेक दिएको छ भने, पछाडिको टायरमा २२० एमएमको डिस्क ब्रेक दिएको छ । यो डबल च्यानल एबीएसमा उपलब्ध हुनेछ ।

यामाहा एमटी–१५को अगाडिको ह्वीलमा २८२ एमएम र पछाडिको ह्वीलमा २२० एमएमको डिस्क ब्रेक दिएको छ । कम्पनीले यसमा सिंगल च्यानल एबीएस दिएको छ ।
यामाहाले आफ्नो बाइकमा फ्रन्टमा टेलिस्कोपिक फर्क र पछाडि मोनोशक दिएको छ भने होन्डाले अगाडिको भागमा डायमन्ड फ्रेमको साथमा ४१ एमएमको अपसाइड डाउन फर्क सस्पेन्सन दिएको छ । साथै, पछाडि मोनोसक दिएको छ ।

