काठमाडौं । सरकारले आयात प्रतिबन्धदेखि एसेम्बल किट र तयारी मोटरसाइकलमा एक तहको भन्सार दर फरक बनाएसँगै नेपालमा मोटरसाइकल एसेम्बलले चर्चा पाएको छ । यही कारण यामाहादेखि रोयल इनफिल्डसम्मले एसेम्बलको तयारी थालेका छन् ।
हुलास अटो क्राफ्टले एसेम्बेल सुरू गरेको करिब ६ वर्ष बितिसक्दा पनि टीभीएस बाहेक अन्य ब्राण्डले प्लान्ट स्थापनाको योजना पनि नबनाएको थाहा पाएसँगै सरकारले आर्थिक वर्ष २०७८/७९ मा ल्याइएको प्रतिस्थापन विधेयकले भन्सार दरमा नै फरक बनायो । योसँगै कम्पनीहरू एसेम्बल प्लान्ट स्थापनामा जुटेका हुन् ।
सरकारले भन्सार दरमा नै फरक बनाएपछि यामाहाले प्लान्ट स्थापनाको काम अगाडि बढाएको थियो । नवलपरासीको रामग्राममा यामाहाले आफ्नो प्लान्ट स्थापनाको काम सकेको छ । कम्पनीले अब छिट्टै यसबाट यामाहाका मोटरसाइकल तथा स्कुटर एसेम्बल सुरू गर्ने जनाएको छ ।
‘हामीले यामाहा मोटरसाइकलको परीक्षण उत्पादन डिसेम्बर महिनाबाट सुरू गर्दैछौं । त्यसपछि क्रमिक रूपमा उत्पादन गर्दै जान्छौं’, एमएडब्ल्यू स्रोतले मेरोअटोसँग भन्यो ।
अब छिट्टै बजाज र टीभीएसपछि यामाहा नेपालमा मोटरसाइकल एसेम्बल गर्ने कम्पनी बन्नेछ । त्यसैगरी, सुजुकी र रोयल इनफिल्डले पनि मोटरसाइकल एसेम्बल गर्ने प्लान्ट निर्माणलाई तीव्रता दिएका छन् ।

सुजुकी टु ह्वीलर्सको नेपालको लागि आधिकारिक विक्रेता भीजी सुजुकीले बाराको परवानीपुरमा प्लान्टको लागि आवश्यक सेड निर्माण अन्तिम चरणमा पुर्याएको छ भने रोयल इनफिल्डले पनि विरगञ्ज क्षेत्रमा नै प्लान्ट निर्माणको काम अगाडि बढाएको छ ।
यी कम्पनीको अलावा हिरो, होन्डा र बेनेलीले पनि नेपालमा नै प्लान्ट लगाउन आवश्यक तयारी गरिरहेका छन् । यी सबै कम्पनीले सन् २०२३ भित्र आफ्नो एसेम्बल प्लान्ट स्थापना गरिसक्ने छन् ।
मोटरसाइकल र स्कुटर एसेम्बल नयाँ युगको सुरूवात
सरकारको नीतिको कारण विगत ५० वर्षदेखि तयारी मोटरसाइकल विक्री गर्दै आएका कम्पनीहरू प्लान्ट स्थापना गर्ने ठाँउसम्म पुग्नु सकारात्मक विषय भएको उद्योग विभागका सूचना अधिकारी हरि पंगेनीले बताए ।
‘नयाँ कोर्ष सुरू भएको छ । यसले समग्रमा मोटरसाइकल तथा स्कुटरमा लाग्ने अन्य पार्टस् उत्पादन र विक्री वितरणको सम्भावनाको ढोका खोलेको छ,’ पंगेनीले भने ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापा पनि मोटरसाइकलको उत्पादनको लागि एसेम्बल प्लान्ट प्रस्थान विन्दु रहेको मान्छन् । उनी भन्छन्, ‘सुरूवात भएको छ । यसलाई सकारात्मक रूपमा लिँदै थप इन्सीलरी उद्योग खोल्ने र भ्यालु एड गर्दै अगाडि बढ्नु पर्ने अवस्था छ । त्यतातर्फ व्यवसायी साथीहरू लाग्ने छन् ।’

