यात्रीलाई नम्बर प्लेट दिँदा जरिवाना नलगाउः गगन थापा

काठमाडौं । यात्री मोटरसाइकलले उत्पादन गरेका मोटरसाइकललाई नम्बर प्लेट दिन थप झन्झट अगाडि ल्याइएको नेपाली कांग्रेसका सांसद गगन थापाले बताएका छन् । थापाले संसदको विशेष समयमा बोल्दै यात्री मोटरसाइकलको दर्ता प्रक्रियामा पुनः समस्या देखिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरे ।

यातायात कार्यालयले भ्याट बील काटेको ३५ दिनभित्र दर्ता नगरेको भन्दै जरिवाना लिन थालेको उनको भनाइ थियो ।

‘विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्यविधि संशोधन भयो । दर्ता भयो । सबैले सरकारको तारिफ गरे । तर, भ्याट बील काटेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ’, थापाले भने ।

सरकारले आफ्नो गल्तीको सजाय उद्यमी–ब्यवसायीलाई दिन नमिल्ने बताउँदै भने, ‘पहिला कानुन भएन । मोटरसाइकल दर्ता भएन । अहिले कानुन बन्यो । तर, ढिलो बनेको कानुनले अब जरिवाना लगाउने काम भयो । यो तत्काल हटाउनु पर्छ ।’


Back_to_top